राजनीति

देउवालाई ओलीको प्रस्ताव– सभामुख हटाउनु पर्‍यो, एमसीसी पास गर्न सघाउँछु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष प्रस्ताव राखेका छन् ।

उक्त प्रस्तावमा सभामुख अग्नि सापकोटालाई हटाउन सहयोग गरे प्रतिनिधिसभाको अवरोध खोल्ने र अमेरिकी सहयोग परियोजना, मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न सघाउने प्रस्ताव गरेको खुलेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी नेता ओलीलाई भेट्न २४ पुसमा उनकै निवास बालकोट पुगेका थिए ।

ओलीलाई विस्थापित गरेर देउवा प्रधानमन्त्री भएपछि उनीहरुबीच पहिलोपटक भएको औपचारिक भेट करिब १ घण्टा चलेको थियो ।

त्यो भेटमा प्रधानमन्त्री देउवाले संसद अवरोध खोल्न र एमसीसी अनुमोदनका लागि सहयोग माग गरेका थिए ।

प्रधानमन्त्री देउवाले हालै मात्र गठबन्धनका केही शीर्ष नेताहरु र पार्टीका आफू निकट नेताहरुलाई बताए अनुसार ओलीले सभामुख हटाए संसद अवरोध खोल्ने र एमसीसी पास गर्न पनि सघाउने जवाफ दिए ।

‘केपीजीले सभामुखलाई हटाऔं, त्यसमा तपाईंले गठबन्धनका अरु नेताहलाई सहमत गराउनुस् ।

एमसीसी पास गर्न म समर्थन गर्छु भन्नुभएको रहेछ,’कांग्रेसका एक नेता बताएका छन् ।

प्रधानमन्त्री देउवा शुरुदेखि एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा भएपनि सत्ता गठबन्धनमा भने सहमति जुटाउन सकेका छैनन् ।

खासगरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न तयार देखिएका छैनन् ।

शनिबार स्थानीय तह निर्वाचनबारे छलफल गर्न बोलाएको गठबन्धनको बैठकलगत्तै उनले एमसीसीबारे सरकारमा भएका ४ दलका शीर्ष नेताहरु र एमसीसी अध्ययनका लागि बनेको कार्यदलका सदस्यहरुसँग छलफल गरेका थिए ।

त्यो छलफलमा पनि उनले एमसीसी अगाडि बढाउने र साथ नदिए सत्ता गठबन्धन टुट्न सक्ने बताएका थिए ।

‘उहाँले अर्को कम्युनिस्ट पार्टी सत्तामा बस्ने, अनि मैले एमसीसी पास गर्न सघाउने हुन सक्दैन भन्नुभएको छ । गठबन्धन टुटाउने हो भने एमसीसी पास गर्न सघाउने र सत्ता एक्लै चलाउने दिन्छु प्रष्ट सन्देश ओलीले दिएका छन्,’ कांग्रेसका एक नेताले भने ।

कांग्रेस र एमाले मिल्दा पनि एमसीसीलाई संसदमा अगाडि बढाउन सभामुख बाधक बन्न सक्छन् ।

अघिल्लोपटक ओली प्रधानमन्त्री हुँदा तत्कालीन सभामुख कृष्णबहादुर महराले एमसीसी संसदमा लैजान सहयोग नगरेको ओलीको आरोप छ ।

संसद सचिवालयकै १ कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख महराले राजीनामा दिएका थिए ।

तत्कालीन नेकपाका अध्यक्ष र तत्कालिन प्रधानमन्त्री ओली आफू निकट सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहन्थे, तर प्रचण्डको जोडबलमा अग्नि सापकोटा सभामुख बने ।

एमाले विभाजनका लागि भूमिका खेलेको सभामुख सापकोटा माथि आरोप लागेको छ ।

माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न एमालेले गरेको पत्रचारलाई रोकेर सभामुखले दल विभाजनमा भूमिका खेलेको भन्दै एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

उसले १४ जनालाई पदमुक्त गर्नुपर्ने, नभए सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ ।

अहिले एमसीसी पास गर्न कांग्रेसलाई साथ दिँदा सापकोटालाई सभामुखबाट पनि हटाउन सकियो भने कांग्रेस र माओवादी केन्द्रको दुरी बढ्ने मात्र होइन, इबी साँध्न पनि पाइने बुझेर नै एमाले अध्यक्ष ओलीले सापकोटालाई हटाउने प्रस्ताव गरेको हुनसक्ने कांग्रेस नेताहरुको बुझाइ छ ।

संंविधानको धारा ९१ मा सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था छ ।

धारा ९१ ९६० सभामुख र उपसभामुख अनुसार प्रतिनिधि सभाको सदस्य नरहेमा, सभामुखले लिखित राजीनामा दिएमा र सभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा मात्र सभामुख पद रिक्त रहन्छ ।

सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्तावअगाडि बढाउने प्रक्रियासम्बन्धी ब्यवस्था प्रतिनिधिसभा नियमावली २०७५ को नियम २०७ मा छ ।

‘‘२०७ बमोजिमको प्रस्ताव सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको २ तिहाई बहुमतबाट पारित भएमा सम्बन्धित सभामुख वा उपसभामुख पदमुक्त हुनेछ,’ नियम २०९ मा उल्लेख छ ।

तर माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले साथ नदिनासाथ प्रतिनिधिसभामा दुई तिहाई पुग्दैन ।

साथै कांग्रेस पनि सभामुख हटाएर प्रचण्डसँग दुश्मनी मोल्ने पक्षमा देखिएको छैन ।

‘सभामुख हटाएर प्रचण्डलाई चिढ्याउनुभन्दा गठबन्धन तोड्न तयार हुनासाथ एमालेले एमसीसीमा साथ दिइहाल्छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘कांग्रेस यस्तो खराब विकल्पमा जान सक्दैन ।’

यही फेब्रुअरी महिनाभित्र एमसीसी संसदबाट अनुमोदन गराउनुपर्ने दबाव पनि प्रधानमन्त्री देउवामाथि छ ।

त्यसैले उनले गठबन्धन जोगाउने शर्तमा प्रचण्ड र माधव नेपालहरुलाई नै एमसीसी अनुमोदनका लागि मनाउने वा एमालेलाई साथ दिएर एमसीसी अनुमोदन गर्ने एक विकल्प रोज्नसक्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *