राजनीति

एमसीसी सम्झौतालाई संसदबाट पास गरौंः बाबुराम भट्टराई

काठमाडौं । । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कुनै आलटाल नगरी संसदबाट पास गराउनु पर्ने बताएका छन् ।

एमसीसी प्रकरणले पाँच दलीय सत्ता गठबन्धनमा खटपट आउन लागेको संक्रेत गर्दै उनले यही बहानमा गठबन्धन टुट्न नहुने र एमसीसीलाई सर्वसम्मतिले पारित गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

आगामी फेब्रुअरी १ सम्ममा एमसीसी पास गर्नुपर्ने संकटमा देखिएका प्रधानमन्त्री शेरबहादुर देउवाले गत शनिबार सत्ता गठबन्धनको बैठकमा गठबन्धन तोडेरै भएपनि एमसीसी पास गराउने बताएपछि थप तरङ्ग उत्पन्न भएको हो ।

पूर्वप्रधानमन्त्री भट्टराईले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्– ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं।

सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् ।’

यता एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई एमसीसी पास गर्नमा सघाउने वचन दिएका छन् ।

ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाएमा आफूले देउवालाई सघाउने बताएका हुन् ।

सत्ता गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी यथास्थितिमा एमसीसी पारित गर्न नसकिने अडानमा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *