काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गर्न नसकेपछि बैठक पुन बस्ने भएको हो । सो बैठकमा चुनावबारे सामान्य आन्तरिक छलफल भएको एक नेताले जानकारी दिए ।
स्थानीय तह निर्वाचन ऐन संशोधन नभएपछि निर्वाचन आयोगले ऐनको दायराभित्र चुनाव गराउन मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ । स्थानीय तह निर्वाचन ऐनले निर्वाचनको दुई महिना अगावै निर्वाचनगरी कार्यभार सम्हालेकै दिन पद हस्तान्तरण गर्ने व्यवस्था गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।




