खस्किएकाे बैंससित साेधिरहन्छ काेही प्रश्न
देखिरहूँ साम्नेमा बसिरहूँ नजिकै भन्छ
काेही जिज्ञासा राखिरहन्छ
हालखबर बुझ्ने दाउमा
एक्लै एकान्त ठाउँमा
किन बेचैन छ ऊ ?
किन बेसरम बेसाेमती आइरहन्छ ?
फूलकाे रसराग र परागसित
माेहित हुने तुल्याएर भ्रमर
बनाएर आफैँलाई बत्तीकाे पुतली
किन हाे ऊ नचाहिने माेहनी खन्याइरहन्छ ?
समुद्रकाे छालमुनि
तरलतामा पाैडिने बनाएर माछाे आफूलाई
खै किन हाे काेही
मलाई नै नियमित सताइरहन्छ !
अझै मेराे छातीभित्रकाे एक कुनामा
नअटाउनु पर्ने काेही
खै किन अटाइरहन्छ ?
बिर्सिसकेकाे विगतलाई
झकझक्याउन रातैभरि सपनामा
खै किन हाे कुन्नि
काेही पटकपटक आइरहन्छ !
हराइसकेकाे तिर्सनासँग
प्यास बनेर नअआऊ काेही
दन्तलहर फुक्लिसके सबै सबै
मुस्कान मागेर नआऊ काेही
गरैगरा परेकाे अनुहारसित रहन्न जुहारत
भाेगिरहेझैँ लाग्छ हबिगत
त्यसैले आशाकाे त्यान्द्राेमा अल्झेर
नखाेज वशीभूत बनाउन
आइन्दा तिम्राे छाया नपठाऊ मुटुभित्र पसी माया नरसाऊ
नखाेज बिल्कुल द्रवीभूत हुन !




