काठमाडौं। सत्तारूढ नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाइ समितिको कुनै औचित्य नरहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सचेतक गुरुङले हालसम्मको अनुभवलाई स्मरण गराउँदै सो समितिको औचित्य र अर्थ नरहेको बताए।
पूर्वकानुनमन्त्रीसमेत रहेका उनले संविधानले परिकल्पना गरेअनुसार काम गर्न नसकेको बताए।
उनले संसदीय समितिलाई प्रभावकारी बनाउने हो भने संघीय संसद ऐनलाई संशोधन गरेर अघि बढनुको विकल्प नरहेको पनि बताए।
मन्त्रिपरिषद, कानुन परिषद् वा संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावलाई स्वीकार गरेर जाने अवस्था हाल रहेको बताउँदै उनले यसबाट समितिको काममा प्रभावकारिता नआउने बताए।
बैठकमा संसदीय सुनुवाइका सम्बन्धमा नेपाल कानुन आयोगले तयार पार्न लागेको विधयेकका बारेमा छलफल गरिएको थियो।




