विचार

कता लुके कांग्रेसका बोलक्कडहरु

स्थानीय निर्वाचन समयभित्रै गर्नुपर्ने विषयमा सत्तारुढ दलभित्र किन अनावश्यक विवाद वा छलफल भइरहेको छ ? आवधिक निर्वाचनलाई लिएर किचलो गर्नुपर्ने आवश्यकता किन आइलाग्यो ? यसले कस्तो सन्देश प्रवाह गरेको होला ? जनउत्तरदायी सरकार र दलहरुले यसको जवाफ दिन आवश्यक छैन ? निर्वाचन आयोगले निर्वाचन मिति प्रस्ताव गरी त्यसको निकासा खोजिरहेको समाचार र टिप्पर्णीप्रति ध्यानाकर्षण नभएर होला वा दलीय वा व्यक्तिगत स्वार्थका खातिर हो, सरकार र गठबन्धनका दलहरु अनिर्णयको बन्दी हुनु निश्चिय नै लज्जाको विषय हो । पूर्ण कार्यकाल संसदले काम गर्नुपर्छ भन्ने मान्यतामा प्रतिस्थापित भएको संसदको निर्वाचनमा जाने विषयको छलफलले दलहरु भित्रको कचिङ्गल मात्र होइन, सत्ता राजनीतिको फोहोरी खेल पनि देखिन्छ ।

संधैं धमिलो पानीमा माछा मार्ने प्रवृत्ति देखिनु सकारात्मक संकेत होइन । कुनै दल वा व्यक्तिको हैसियत मापन हुन्छ भन्ने भयले संवैधानिक तथा कानुनी दायित्व मात्र होइन प्रणालीको आत्ममाथि नै प्रहार गर्न चाहानु कति जायज होला ? किन यस्ता विषय र सन्दर्भहरुले समय लिएको होला भन्ने अहँ प्रश्न दलभित्रका अन्य ‘राम्रा’ व्यक्तिहरुको मनमा उठ्दैन ? त्यसलाई प्रतिवाद गर्न सक्ने क्षमता, ल्याकत र योग्यता, राजनीतिकर्मीहरुमा छैन ? अधिकांश नेता तथा कार्यकर्ता नेतृत्वको दास नै भएका हुन् ? आफूलाई जनताको बीचमा परीक्षण गर्न किन डराउँछन् ? छलछाम र तिकडम बाजी गरेर कहिलेसम्म खाने ? नेकपाको विभाजनले कम्युनिष्ट नेतृत्वको सरकार रहेन लोमो समय सरकारमा रहन्छौं, असहमत विचारलाई स्थान छैन भन्ने नारा दिएर जनताको अभिमत लिएका दलहरु र यसको नेतृत्व विभाजित भएपश्चात आइरहेको गठबन्धनको नेतृत्व स्वीकार गर्न नेपाली कांग्रेस तयार भएको हो ।

विभाजित भएको कम्युनिष्ट पार्टी नेकपा माओवादी वा नेकपा समाजवादीको राजनीतिक व्यवस्थापन कांग्रेसको जिम्मवारी होइन । कांग्रेसको मूल कार्यभार लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ गर्दै नेपाली जनताको आकांक्षा बमोजिमको समृद्धितर्फ केन्द्रित हुने हो । पटक पटकको जनसमर्थन र त्यसको प्रभावबाट आफ्नो लक्ष्य, उद्देश्य र गन्तव्यमा दृढ भएर प्रस्तुत हुनुपर्ने समयमा कम्युनिष्टहरुको झगडा र कचिङ्गलमा फस्नु पर्ने आवश्यकता होइन । कांग्रेसलाई वा यस पार्टीको सभापति देउवालाई कम्युनिष्टहरुले हार्दिकताले स्वीकार गरेका होइनन, देउवामा अचम्मै शासकीय क्षमता र योग्यता भएर नेतत्व गर्दिन अनुनय विनय गरेका पनि होइनन् ।

नेकपा एमालेका अध्यक्ष ओलीलाई गलहत्याउन देउवारुपी सिस्नो समाउन बाध्य भएका हुन् । आफ्नो अस्तित्व, दम्भ र अहंकारले देउवाको शरणमा पु¥याएको जग जाहेर नै छ । अली अनुकूल अवस्था आएमा यिनीहरु कसैले स्वीकार गर्छन् वा माया गर्छन् भन्ने छैन । त्यस्तो परिस्थिति बुझ्दा बुझ्दै स्थानीय निर्वाचनले माओवादी वा नेकपा समाजवादीलाई के असर पार्छ ? यसको पछि पछि कांग्रेस वा कांग्रेसको नेतृत्व लागि दिनुपर्छ भन्ने हो र ? गठबन्धन रहेरहन्छ, नरहे रहँदैन, कांग्रेसले नेपालको संविधान, ऐन कानुन र त्यसले निदृष्ट गरेको शासन व्यवस्थाको अवधारण बमोजिम अगाडि बढ्ने सवालमा कसैसँग वा सम्झौता गर्न सक्छ, न त मोलहिज्जा नै गर्छ सक्छ । कम्तीमा यस दिशामा त स्पष्टता आउनुप¥यो भन्ने आम मानिस वा कार्यकर्ताको चाहना र दबाब छ । आफ्नो स्वार्थमा मात्र केन्द्रित हुने र सधैं विचारको हुँकार दिने युवा भनाउँदा कमाउधन्दामा लागेका लुटेराहरुको त ध्यान खिचोस् । उनीहरु सबै आफ्नो धन्दामा मात्र केन्द्रित छन् बाँकी जनसरोकार, मान्यता र दृढ सैद्धान्तिक दृष्टिकोण र अवधारणातर्फ लोकप्रियतावादमा रमाउने र खेल्नेहरुको ध्यान गएको छैन ।

हामी कांग्रेसलाई जनतासँग जोड्छौं, हाम्रो सरोकार विचार, सिद्धान्त र संस्थागत मूल्य मान्यता र पद्धतिमा पार्टीलाई अगाडि बढाउने हो भन्नेहरुको आवाज सुन्न छोडिएको छ । आफ्ना गुट र स्वार्थका कुरा विच्छ्याएर कार्यकर्तापंक्तिलाई रणभुल्लमा पार्ने यो प्रवृत्तिसँग लोकतन्त्रवादी समाज त्यत्ति नै सजग हुन आवश्यक छ । शक्ति केन्द्र, स्वार्थीसमूह, पाखुरा र पैसाको बलमा पद हत्याएका कथित ‘नेताहरु’ ले नेपालको लोकतान्त्रिक शासन व्यवस्थालाई थप कमजोर र बद्नाम गर्न सक्छन् । लोकप्रियतावादमा जनआकांक्षालाई कैद गरेर आफ्नो स्वार्थको रोटी सेक्ने यस्ता प्रवृत्ति अझ बढी विकृत र भ्रष्ट छ । यी तत्वहरुको तलदेखि माथिसम्मको हैसियत, सम्बन्ध र अवस्था धेरैलाई थाहा नै छ । हप्ता असुली गरेर कांग्रेसको नेतृत्व तहमा उदाएका यी र यस्ता पात्र र प्रवृत्ति आगामी दिनमा बढी खतरनाक हुने सम्भावना देखिन्छ ।

पार्टी होइन, आफू बन्ने एकमात्र लक्ष्य र उद्देश्य राखी मैदानमा उत्रिएको यस्तो प्रवृत्ति सबैभन्दा बढी हानिकारक हुन्छ । कुनै वैचारिक आधार लिए पनि उनीहरुको चरित्र मूलतः लुटतन्त्रमा विश्वास गर्छ । आफूलाई शक्तिशाली, सम्पन्न र योग्य देखाएर जनजवानहरुको ध्यान खिच्नु र त्यसमा आकर्षित गर्नु उनीहरुको रणनीतिक उद्देश्य रहन्छ । यस्ता व्यक्तिहरुको बाध्यता र कब्जामा रहेको पार्टीलाई कसरी आम मानिसको अपेक्षासँग जोड्न लैजाने ? यस्तो प्रवृत्तिले आम जनताको भावना र चाहनालाई प्रतिनिधितव गरी अलोकप्रिय तर यथार्थ धरातलमा उचाउन सक्छ ? आवाधिक निर्वाचनको सन्दर्भमा भएको अनाश्यक बहसतर्फ यिनीहरुको ध्यान गएको छैन । आफ्नो स्वार्थ मिल्छ वा मिल्दैन मूल ध्यान त्यसतर्फ छ । कम्युनिष्टहरुको आन्तरिक समस्याको समाधान खोज्न आवाधिक निर्वाचनलाई धकेल्न मिल्दैन भन्ने तथ्य स्पष्ट राख्न नसक्नेहरुसँग थप के आशा गर्न सकिन्छ ? यिनीहरुले देश र जनताको प्रतिनिधित्व गरेर स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सक्छन भन्ने आशा गर्नु नै व्यर्थ हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *