६ महिना अघि प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा उभिएर मत माग्दा आफनो तीन वटा प्राथमिकता भएको बताए । उनले भने–एक खोप । दुइ–खोप । र,तीन–खोप । यी थिए देउवाको प्राथमिकता । विशाल जनमत भएको नेकपा छिन्नभिन्न भएर यसैको दुई भंगालोले काँधमा वोकेर संसदमा कमजोर प्रतिपक्ष भएर बसेको नेपाली कांग्रेसको संसदीय दलको नेतालाई नै प्रधानमन्त्री बनाउने कसरत हुदैथियो । यसैक्रममा देउवाले मत माग्दा राखेका तीन प्राथमिकता हुन यी । यसपछि विशाल जनमत, राष्ट्रवादी बर्को र आफूसँग असहमत हुनेलाई मुटु छेडने गरि शब्दवाण प्रहार गर्ने क्षमताको वावजुद केपी शर्मा ओलीले सत्ता गुमाउनु पर्याे ।
वुढानिलकण्ठबाट शेरबहादुर देउवा वालुवाटार गएको र वालुवाटारबाट वालकोट केपी ओली गएको पनि एवं रितले ६ महिना वितिसक्यो । विशाल आकांक्षा पनि नभएको र जनतालाई तिलस्मी सपना पनि नवाँडेको हुनाले देउवा सरकारसाँग मानिसहरुको ठूलो गुनासो छैन । दैनिक प्रशासन सञ्चालन र विदेश मामिलामा सन्तुलित भएर तीन तहको चुनाव संयमित ढंगबाट गरायो भने देउवाको सफलता मानिनेछ ।
तर,के मुलुकमा समस्या यति हुन ? के मानिस यतिमै सन्तुष्ट भएर बस्नेछन ? नढाटि भन्ने हो भने अहिलेको देउवाको प्राथमिकता भनेको तीन तहको चुनाव र गिर्दो अर्थतन्त्रलाई सम्हाल्नु नै हो । हिजो प्रधानमन्त्री हुदा देउवासँग खोप सवै जनतालाई लगाउने एक सुत्रीय अभियान थियो । करिव ४० प्रतिशत जनताले खोप लगाएका छन । अहिले स्कुलका वालवालिकाले पनि खोप लगाउन थालका छन । अब वुष्टर डोज जेष्ठ नागरिकबाट सुरु गरेर ब्यापक पारिनेछ । तर,ओमिक्रोन भाइरसले कुन तहको असर गर्नेछ र सरकारको प्राथमिकता कति वदलिनेछ यसै भन्ने अवस्था छैन । तर,पनि कोभिडको संकट टरेको छैन ।
सवाल कोभिडको मात्र होइन,अर्थतन्त्रको हो । नेपालको यस आर्थिक बर्षको आर्थिक वृद्धिदर ३ दशमल ९ प्रतिशत भन्दा माथि जादैन भनेर विश्व वैंकले भनिसकेको छ । धान उत्पादन बढेको देखिन्छ तर आयात निर्यातको अवस्था हेर्दा नेपाल निकै निराशाजनक अवस्थामा देखिन्छ । सवैभन्दा डरलाग्दो पक्ष के छ भने नेपालमा लगानीकर्ता भनौं वा इन्टरप्रेनरसिपको कमी छ । र,जसले लगानी गरेका छन–ती विभिन्न बहानामा निशानामा परेका छन । लगानीकर्तालाई निरुत्साहित गरेर यो देश कसरी वन्छ ? यदि लगानीकर्ताले नियम र कानुनको उल्लंघन गरेको छ भने तिनलाई कस्ने कानुन प्रभावशाली हुनुपर्यो,अन्यथा ब्यक्ति तोकेर लगानीकर्ताको टाउकोमा हान्ने चलन जारी रहेसम्म देश बन्दैन । एउटा सानो उदाहरण यहाँ पेश गरौं । हालै मात्र केशरमहल छेउमा रहेको ग्रिनलाइनका साहुजी फरार भए । नेपालमा व्राण्डेड ह्विस्कीको कारोवार गर्ने यस पसलका मारवाडी साहुजी गायव भएर तिनको पसलमा अहिले दुई वटा वैकले दावी गरेका छन । वैंक ठगे,गए एउटा कुरा होला तर तिनी किन गए होलान ? हालै मात्र नारायणहिटी परिसरमा क्याफे चलाउने भनेर आनन्दराज वतासलाई वतास झैं उडाइयो । मानौं कि उनले सात गाइ मारे वरावरको पाप गरे । राज्यले टेण्डर गर्यो,उनले टेण्डर पारे र क्याफे बनाए । तर,नेपाली ब्यापारीलाई यसरी प्रहार हुदैछ मानौं कि उनका सन्तान दरसन्तान अव ब्यापारमा वस्लान नवस्लान ? ठूलो प्रश्न छ । समस्या वतासको हो कि उनलाई छिर्न दिने हुरीवतासहरुको हो ? कानुनी छिद्रबाट छिर्न दिने अनि अणुवम प्रहार गर्ने ? यसो भनेर वतास समुह ठीक हो भनेको होइन तर हाम्रो सयन्त्रको दोहरो भूमिकाको मात्र चर्चा गरेको हो ।
एमसिसी जस्ता ठूला लगानी आउन नदिने,दातृ निकायलाई भडकाउने र स्वेदशी लगानीकर्तालाई पडकाउने नीति जबसम्म रहन्छ तबसम्म यो देशले अग्रगति लिदैन । सवैलाई भडकाउने हो भने यो देशमा लगानी चाहि कसले गर्छ ? चारवटा कुखुराको चल्ला,अलिकति वारीमा लगाएको रायोको साग वेचेर देशको अर्थतन्त्र वच्छ ? सोचौं,वेलैमा सोचौं र आफूलाई सम्हालौं ।
यसै साता हामी भावुक भयौं कि नेपालको पासपोर्ट दुनियामा कमजोर भयो । के भएपछि पासपोर्ट कमजोर हुन्छ ? र,के भएपछि हाम्रा हरिया पासपोर्ट एकाएक भिटामिनले भरिपूर्ण भएर वलियो हुन्छ ? हामी मध्ये कसैले सोचेको छ ? हामी केवल यति मात्र सोचिरहेका छौं कि भारतले नेपालको लिपुलेक मिच्यो र नेपाल सरकारले तत्काल किन वक्तब्य जारी गरेन ? भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीको भ्रमण अचानक अघिल्लो साँझ कोभिडको बहानामा रोकिन्छ र अर्को साता भारतीय प्रधानमन्त्रीले लिपुलेकमा स्थानीय सडक वन्दैछ भन्छन भने यो विषय सोचे जति सजिलो छैन भनेर वुझनु पर्दैन ? नेपालले लिपुलेक र लिम्पियाधुरा सहितको भू–भाग हाम्रो हो भनेर संविधान संशोधन गरि नक्सामा सामेल गरिसक्यो,अब वक्तब्य निकाल्ने कि कुटनीतिक चार्तुर्यता प्रयोग गरेर जमिनको प्राप्तिमा लाग्ने ? यो केवल चुनावी सरकार हो र यसका प्राथमिकता र क्षमता सीमित छन भन्दा भन्दै पनि यसले गर्नुपर्ने कामका चाङ छन । यी माथि उठेका र उठाइएका समस्यामा सरकार मुखमा मुडकीले हानेर बस्न मिल्दैन । नवोल्नु समस्याको समाधान होइन । यहा केवल मुद्धा समाधानको लागि उठदैनन, मिसनमा उठछन । मिसनमा उठेका मुद्धा यतिकै थन्किदैनन र छिटै पनि थन्किदैनन । यसैले सरकारले मुद्धाको मुख चिन्नुपर्छ र समाधानको लागि असल प्रयत्न गर्नुपर्छ ।
र,कतिपय सवाल यस्ता छन,जुन बर्षौं देखि उठेका छन र तिनले समाधानको मुख देखेका छैनन । कतिपय समस्या हुन्छन,जसको तत्काल समाधान जनताले खोजेको हुन्छ । सरकारले यसमा प्राथमिकता तोक्नुपर्छ । कांग्रेस वृत्तमा नै देउवा कम वोल्छन र काम गर्दा ढंग पुरयाउदैनन भन्ने वुझाइ छ । तर,तिनै कांग्रेसीले उनलाई पुन सभापति जिताएका छन । यसकारण प्रधानमन्त्री समेत रहेका देउवाले झन फुकि फुकि हिडनुपर्छ । उनको एक गल्तीले पार्टीले हार बेहोर्नुपर्छ भने जनता निराश हुन्छन । जनतालाइ केही हुदैछ भन्ने आशा जगाउनु र राजनीतिज्ञप्रति बढेको नकारात्मक भाव घटाउन सक्यो भने पनि यो सरकारको ठुलो गुण हुनेछ ।




