काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले संक्रमण तथा जोखिम न्यूनीकरणका लागि भिडभाड हुने स्थानहरुमा कडाई गर्ने भएको छ । आज (सोमबार) काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक बस्दैछ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले तीनवटै जिल्लामा कोरोनाको अवस्थामा बारेमा जानकारी दिएर संयुक्त बैठक बस्ने बताए । आफूहरूले अहिल्यै निषेधाज्ञा, ‘लकडाउन’ गर्नेबारे तयारी नगरेको उनको भनाई छ । उनले सरकारको निर्देशन पछि आफुहरु आगामी रणनीति तय गर्ने निष्कर्षमा पुगेको बताए ।
उपत्यकाका केही ठाउँमा संक्रमण दर बढ्दै गएकाले त्यस्ता ठाउँमा के–कस्तो रणनीति अपनाउने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएको छ । आइतबार मात्रै काठमाडौं उपत्यकामा ६१५ जना संक्रमित थपिएका छन् । हाल उपत्यकाका ३ जिल्लामा गरी ३ हजार ४८१ जना सक्रिय संक्रमित रहेका छन् ।
तीनवटै जिल्ला प्रशासन कार्यालयले पहिलेकै अवस्था आउन सक्ने जोखिम भएकाले पूर्ण सावधानी र स्वास्थ्य मापदण्ड पालना गराउन सचेत रहेको जनाएको छ ।




