काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट जाने भएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको हो ।
प्रधानमन्त्री देउवा संसदको गतिरोध अन्त्यका लागि ओलीलाई भेट्न उनको निवास जाने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जनाइन् । उनले भनिन्, ‘हाम्रो आजको बैठकले संसदको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीजीसँग सांसद गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएको छ । समय लिएर प्रधानमन्त्रीजी उहाँलाई भेट्न बालकोट जाने कुरा भएको छ ।’
बुधबार काँग्रेस नेता रामचन्द्र पौडेलले ओलीलाई भेट्न बालकोट गएका थिए । पौडेलसँगको भेटमा ओलीले प्रधानमन्त्री देउवासँग संवाद गर्न चाहेको आशय व्यक्त गरेपछि बिहीबार उच्चस्तरीय राजनीतिक समन्वय समिति संयोजक पौडेलले बैठकमा उक्त विषय निकालेका थिए । त्यसपछि समितिको बैठकले ओलीसँग संवाद गर्न प्रधानमन्त्रीलाई जिम्मा दिएको हो ।




