रिबन

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन समितिको अपिल

काठमाडौँ । सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समितिको बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

राष्ट्रियसभा निर्वाचन आगामी माघ १२ गते हुँदैछ । त्यसका लागि ७ वटै प्रदेशमा सत्ता गठबन्धनले समन्वय समिति गठन गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण, राष्ट्रियसभा निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भएको बताइएको छ । बैठकले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको शुभकामनासमेत दिएको छ । यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने संयन्त्रले विश्वास व्यक्त गरेको पनि प्रवक्ता कार्कीले बताए ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको समितिमा सत्तारुढ दलका शीर्ष नेताहरू सदस्य रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *