काठमाडौँ । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक सकिएको छ । सोमबार बिहानदेखि प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकले आगामी १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा सिट संख्या बाँडफाँट गरी भागबन्डा लगाएका छन् ।
आगामी २० फागुनदेखि खाली हुने राष्ट्रिय सभा सदस्यको पदमा जुन पार्टीको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।
त्यसबाहेक एमालेबाट खाली हुने पद भने भागबन्डा गरिएको छ । आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् ।
एमालेबाट खाली हुने सिटमध्ये तीनवटा नेपाली कांग्रेस, दुईवटा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट लिने गरी सहमति जुटेको छ ।
एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।
कुन प्रदेशबाट कुन दलले उम्मेद्वारी दिदै छन् ?
प्रदेश–१ मा कांग्रेसले एक, नेकपा एकीकृत समाजवादीले एक र जनता समाजवादीले एक सिट लिने सहमति भएको छ भने प्रदेश–२ मा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले एक–एक सिट लिने सहमति भएको छ ।
त्यस्तै बागमती प्रदेशमा काँग्रेस, एकीकृत समाजवादीले एक–एक सिट लिने भएका छन् भने गण्डकी प्रदेशमा कांग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एक–एक सिट लिने भएका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट लिने भएका छन् भने कार्णाली प्रदेशमा कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक सिट लिने सहमति भएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक सिटमा उम्मेदवारी दिने भएका छन् ।




