रिबन

मुख्य समाचार : माओवादी महाधिवेशन फेरी लम्बियो, कांग्रेसमा थपिए १० जना केन्द्रीय सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । पदाधिकारीसहितका केन्द्रीय सदस्य सर्वसम्मत रुपमा चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया शुरु भएको थियो । तर आइतबार दिउँसोसम्म सहमति कायम गर्नेभन्दै निर्वाचन कार्यक्रम नै स्थगित गरिएको हो ।

नेकपा माओवादी केन्द्रले मिश्रित निर्वाचन प्रणालीवाट पहिलो पटक नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको जारी महाधिवेसनले नयाँ विधान पारित भएपछि मिश्रित निर्वाचन प्रणालीमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको हो । माओवादी केन्द्रले आगामी केन्द्रीय समितिमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्णसमानुपातिक प्रणालीमार्फत नयाँ नेतृत्व चयन गर्नेछ । २ सय ९९ सदस्यीय केन्द्रीय कमिटिमा १५ प्रतिशत मनोनित प्रक्रियाबाट आउने छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताएका छन् । लमजुङको सदरमुकाम बेसीशहरमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने,‘हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौं ।’

परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १०औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।

दाङमा कोइला बालेर सुतेका एक व्यक्तिको निसास्सिएर मृत्यु भएको छ । झ्यालढोका थुनेर कोइला बालेर सुतेका प्यूठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दै आएका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको हो । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार शुक्रबार राति सुनारका श्रीमान् श्रीमती कोइला बालेर सुतेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *