नेपाली राजनीतिमा विश्वसनीय नेतृत्वको अभाव र आवश्यकता महसुस भएको यथार्थता स्वीकार गरी आफूलाई रुपान्तरण गर्ने दिशामा कसैले पनि अग्रसरता देखाउन सकेको भए नेताहरु आउँदा वा उपस्थिति हुँदा ‘चोर’ आयो भन्छन् भन्ने अवस्था आउने थिएन । यस्तो आरोप खेप्नुपर्ने अवस्था नै आउँदैनथ्यो होला । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्षले ‘नयाँ नेपाल’ निर्माणकाका लागि पटक पटक आन्दोलन, क्रान्ति र युद्ध गरेका शीर्ष नेताहरुको समुउपस्थितिमा यस्तो भन्ने आँट पनि गर्दैनथे होलान् । उनको भनाइलाई गलत सावित गर्ने उद्देश्यले माओवादी केन्द्रका अध्यक्ष दाहालले ‘फ्लोर टेस्ट’ गर्दा भनाइको समर्थनमा आवाज आयो । त्यसलाई सच्चाउन, दाहालले पटक पटक प्रयास गर्नुप¥यो । तर उपस्थित जनसमुहले स्वीकार गरेन । यो आरोपलाई उनले आफ्नै महाधिवेशनमा पनि सामना गर्नुप¥यो ।
नेताहरुको बसाइ उठाइ ख्वाइलगाइदेखि लिएर जीवनशैलीसम्मको प्रश्न उठ्यो र जवाफ दिनुपर्ने स्थिति बन्दैछ । यो जागरण अत्यन्तै राम्रो हो, यसले जनताका प्रतिनिधि वा सेवक हौं भन्नेहरुलाई उत्तरदायी र जवाफदेही बनाउन बाध्य गर्छ । दाहालको लाजिम्पाट बसाई पनि विवादित बन्यो, त्यसपछिको रोजगाइ बद्नाम ठेकेदारको घ हुन गयो । आवाज उठाइएको थियो तर त्यसको सुनवाई भएन । आफूलाई पारदर्शी र विश्वसनीय बनाउने प्रयास नै गरेनन् । आफ्नो खर्चको वैधानिक श्रोत पुष्टि गर्न नसक्नु र महँगो जीवन बिताउनु हाम्रो राजनीतिक नेतृत्वको विशेषता नै भयो । त्याग, तपस्या, बलिदान सबै आफ्नो सुख, सुविधा र सम्पन्नताका लागि मात्र हो भन्ने सन्देश प्रवाह भयो । जनजीवनका प्रति थोरै पनि इमान्दार भएनन् ? आफ्ना पुराना दुःख सुखका साथीहरुप्रति जिम्मेवारसम्म भएनन । पैसावाल र धन्दावाल मानिसको नजिक रहने र उनीहरुकै स्वार्थ र चाहना बमोजिम काम गर्ने परम्परालाई नै निरन्तरता दिए । जसले हाम्रो राजनीति र नेतृत्वप्रतिको विश्वास र आस्था नै समाप्त हुन गयो । त्यसले गर्दा नेताहरुलाई नेता स्वीकार गर्न कठिन भएर ‘चोर’ भन्ने वाक्यंश प्रयोग गर्नु उचित लागेको होला ।
हुन त यी राजनीतिकर्मीहरु ‘राजनीतिक व्यवसायी’ भएका छन् । यी राजनीति व्यवसायीहरुलाई ‘चोर’ भनेर चोरको पनि अपमान भयो भन्ने टिप्पर्णी पनि आयो । हामीभन्दा पनि खराब मान्छलाई ‘चोर’ मात्र भन्ने, अर्को शब्द प्रयोग गर्नुपर्छ भनी चोरहरुको विरोध पनि सार्वजनिक भयो भन्ने समाचार आएको छ । यसप्रति हाम्रो राजनीतिक नेतृत्वले गम्भीरता र संवेदनशीलता देखायो त ? आफ्ना गतिविधि, व्यवहार निर्माण, सोच र चिन्तनमा परिवर्तन गर्न सक्यो त ? भन्ने गम्भीर सवाल पनि खडा भएको छ । ठूला भनिएका दलहरुको महाधिवेशन सम्पनन भएको सन्दर्भमा आफूमाथि लागेका आरोपहरु केलाउने र मिथ्या सावित गर्ने प्रयास भएको छ ? त्यसतर्फ धयान नै गएको छैन । योग्यता पु¥याउन पनि सानो ठूलो अपराध, बेइमानी र बद्मासी गरेकै हुनुपर्ने देखिन्छ । नेतृत्वको रोजाइमा असल होइन बद्मास पर्ने, राम्रो होइन, हाम्रो पर्ने, योग्य होइन भ्रष्ट पर्ने, दलाल, तस्कर र माफियाको पहुँच र प्रभाव सयन कक्ष सम्मै हुने, सरकार र पार्टी नै त्यस्तै फटाहरुले सञ्चालन गर्ने भएपछि दलका इमान्दार सिद्धान्तप्रति प्रतिबद्ध निष्ठावान नेता तथा कार्यकर्ताको मूल्यांकन कसरी हुने ? उनीहरुले स्थान र भूमिका कसरी प्राप्त गर्ने ? स्वार्थ समूहको कालो सूचिमा पर्ने राम्रा, योग्य र इमान्दारहरुले नेतृत्व नजिकल नै पर्न नपाउने, पर्न नदिने, सल्लाह नै नसुनने भएपछि जनताले नेताहरुलाई ‘चोर’ भन्नु अस्वभाविक हो र ? त्यसमा दाहाल वा ओलीहरुले आपत्ति प्रकट गर्नु नै स्वीकार्नु हो । आफ्नो धरातल कति कमजोर रहेछ भनी आत्म मूल्यांकन गर्न नसक्नेहरुलाई कसरी विश्वास गर्न सकिन्छ ।
राष्ट्रिय दृष्टिकोणकै अभाव छ । एकतिहाई जनसंख्या वैदेशिक रोजगारीमा गएर प्राप्त विप्रेषणबाट मुलुकको अर्थतन्त्र चलेको छ । विकास बजेट खर्च हुनसकेको छैन । दिनहुा बाकसमा लास आएको छ, नेपालीहरु कष्टकर जीवन बिताइरहेका छन् । अध्ययनको लागि भनेर विदेशिएका किशोर किशोरीहरु नेपाल फर्कन नै चाहँदैनन् । यो क्रमले निरन्तरता पाइरहेको छ । सरकारी मानिसका छोराछोरी नेपालमा छैनन् । नीति नियम बनाउने र कार्यान्वयन गर्नेहरुले आफ्ना सन्तानलाई विदेशमा पठाएका छन् । देशलाई लुटेर बर्वाद बनाउने र सन्तान विदेश पलायन गराउनेहरुले कसरी मुलुकको हितमा काम गर्छन् भन्ने विश्वास गर्न सकिन्छ ? राजनीतिक नेतृत्व यसमा रमाएर भ्रष्ट, दलाल र तस्करसँग बसी उसको योजना र चाहनामा नीति, नियम बनाई आफूलाई सम्पनन बनाउने र सुविधाभोगी जीवन बिताउने एकसूत्रीय अभियानमा छ । सत्तामा जानका लागि किन यस्तो मारामार हुन्छ त भन्ने विषयमा भएको अध्ययनले के देखाउँछ भने एकपटक मन्त्री वा आकर्षक ठाउाको जिम्मेवारी प्राप्त गरेपछि सात पुस्तालाई पुग्ने सम्पत्ति आर्जन हुँदो रहेछ । त्यसलाई निरन्तरता दिन त्यस्तै प्रवृत्तिलाई प्रोत्साहित गरिने र त्यही किसिमको गिरोह बनाएर शासन व्यवस्था सञ्चालन गर्ने गरिँदो रहेछ । जो तयो गिरोहमा प्रवेश गर्न सके उसको चकाचौध हुने, अरु टुलुटुलु हेरेर ताली बजाइदिनुपर्ने परिवेश निर्माण गरिएको छ ।
आम मानिसले व्यक्त गर्न थालेका छन् कि ‘जुन जोगी आए पनि कानै चिरेको’ मात्र आउँछन् । सबैले आफ्नो स्वार्थ र सम्पन्नतामा मात्र ध्यान दिए । राष्ट्रिय आवश्यकता र जनताको भावनाप्रति कुठाराघात नै भयो । उत्तरदायी हुनुपर्ने संस्था, निकाय र व्यक्ति चरम अनुत्तरदायी र गैरजवाफदेही बन्ने क्रम झनै बढेर गयो । आफूले निर्वाहा गर्नुपर्ने भूमिकामा कोही खरो उत्रन सकेन । भ्रष्टाचार दिन दुई गुणा, रात चार गुणाको दरले बढ्दा र शासन प्रणालीमाथि नै प्रश्न चिह्न लाग्दा समेत नेतृत्व सचेत बनेन । त्यसमा रमाएर आफूलाई अनुकूल हुने किसिमको पद्धति निर्माणको दिशातर्फ उन्मुख देखियो । आर्थिक रुपमा सम्पन्न भएपछि निर्वाचन पनि पक्षमा ल्याउन सकिन्छ भन्ने सोच र चिन्तनले प्राथमिकता पाएकाले त्यस्तै प्रवृत्ति र पात्र उपयुक्त हुने र लाग्ने क्रम व्यापक भएको छ ।




