काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ । प्रतिवेदन पारित भएसँगै अब विधान मस्यौदा पारित गरेर नेतृत्व चयनको प्रक्रिया शुरु हुनेछ । शनिबारै नेतृत्व चयन हुने अध्यक्ष प्रचण्डले बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे धेरै बोल्दा समस्या हुने बताएका छन् । माओवादी केन्द्रको जारी महाधिवेशनअन्तर्गतको बन्दसत्रमा प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिदै प्रचण्डले एमसीसीबारे धेरै नबोल्ने भन्दै छलफलका माध्यमबाट पार लगाउने समेत बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारको निर्माण गर्न चुनावपछि विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रतिनिधिबाट आएका प्रश्न तथा सुझाव समेटेर ठोस विचार विकास गर्न छुट्टै महाधिवेशन गरिने जानकारी गराएका हुन् ।
नेकपा एकिकृत समाजवादी र जागरण परिषद्का बिचमा एकीकरण भएको छ । अध्यक्ष माधवकुमार नेपालले परिषद्का संयोजक साध्यबहादुर भण्डारीसहितका ८ सय बढि नेता कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका हुन् । संयोजक भण्डारीसँगै उपाध्यक्ष भीमकुमारी गुरुङ, महासचिव हेमनाथ सेढाई, सचिव दुर्गानन्द चौधरी, गोकर्ण तामाङ, अर्जुन थापा, गोकुल थापा लगायतका नेता एकीकृत समाजवादीमा मिसिएका हुन् । अध्यक्ष नेपालले एक सातामा दुई साना पार्टीलाई नेकपा एकिकृत समाजवादीमा विलय गराएका हुन् ।
नेपाली काँग्रेसले आज ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ विभिन्न कार्यक्रम गरी मनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा वीपी जेल बसेको स्थान सुन्दरीजल पुगेको भएपनि औपचारिक कार्यक्रम भने भएनन् । तर जिल्ला जिल्लामा भने विभिन्न् कार्यक्रमहरु भएका छन् ।
सरकारले विदेशबाट नेपाल प्रवेशमा लगाएको केही प्रतिबन्ध हटाउने निर्णय गरेको छ । भारतमा ओमिक्रोन संक्रमण फैलिन लागेका बेला सरकारले भने विदेशबाट आउनेहरुमाथि लगाएको कडाई खुकुलो बनाउने निर्णय गरेको हो । कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा १० दिन घरमै क्वारेन्टाइन बस्नेगरि प्रवेश अनुमति दिने निर्णय गरेको हो ।
प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । स्वास्थ्य परीक्षणका लागि प्रधानसेनापति भारत जान लागेको नेपाली सेनाले जनाएको छ । मन्त्रिपरिषद्को पुस १५ गते बसेको बैठकले प्रधानसेनापति शर्माको पुस १८ गतेबाट ३० गतेसम्म बिदा स्वीकृत गरेको छ ।
भारतले यु–१९ क्रिकेटको एसिया कपको उपाधि जितेको छ । श्रीलंकामाथि सानदार जितसहित भारतले यु–१९ एसिया कप क्रिकेटको उपाधि जितेको हो । दुबईमा सम्पन्न फाइनलमा भारतले श्रीलंकालाई नौ विकेटले पराजित गरेको हो ।




