नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको महाधिवेशनबाट बलियो विश्वास र समर्थन प्राप्त भएको छ । देशका प्रमुख सञ्चारमाध्यमदेखि चलेको विश्लेषक तथा टिप्पर्णीकर्ताहरुको अनुमान र प्रक्षेपण विपरित कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले अभूतपूर्व समर्थन प्रकट गरेको देखियो । केन्द्रीय समितिमा अभूतपूर्व बहुमत प्राप्त भएसँगै उपसभापति एक र महामन्त्री दुई पदमा फरक समूहबाट उम्मेदवार भएका (युवा) युथ व्यक्तिहरुलाई निर्वाचित गराएर सन्तुलित व्यवहारका लागि आम मानिसको आशा र विश्वास बमोजिम प्रस्तुत हुन आह्वानसमेत गरिएको छ । लोकतान्त्रिक शासन व्यवस्थाको रक्षार्थ खेल्नुपर्ने भूमिका र लिनुपर्ने नीति स्पष्ट हुन आवश्यक छ भन्ने अभिमतका लागि अग्रसर हुन युवा महामन्त्रीहरुको चयन भएको छ ।
यसलाई सभापतिलगायत निर्वाचित पदाधिकारी तथा सदस्यहरुले गम्भीरतापूर्वक ग्रहण गर्न अत्यावशयक छ । आफ्नो उपस्थिति नै प्रयाप्त हुन्छ भन्ने मान्यता र मानसिकता त्यागी सम्पूर्ण देशवासी तथा लोकतन्त्रवादीहरुले सोचेजस्तो पार्टी, नीति र कार्यक्रम अविलम्ब सार्वजनिक गर्न सक्नुपर्छ । देशभरिका नेता तथा कार्यकर्ताको आवाज र अभिमतले दिएको सन्देश बुझ्न सभापति देउवा र सिंगो कार्यसमितिले सकेन भने नेपाली कांग्रेसको औचित्य अब बाँकी रहन्छ जस्तो लाग्दैन । राजनीतिले आग्रह गरेको अवस्था र वातावरण निर्माणमा कांग्रेस केन्द्रीय समिति तत्कालै जुट्न आवश्यक छ । त्यसले मात्र राजनीतिप्रतिको वितृष्णाबाट युवा पुस्तालाई उत्साह उमंग र अपेक्षातर्फ अभिपे्ररित गर्न सक्छ । भाषणमा व्यक्त विचारहरु अब व्यवहारमा उतार्न आवश्यक छ ।
सभापति देउवाले दोस्रो कार्यकालका लागि सभापति हुने इच्छा किन राख्नुभएको हो ? उहाँ कांग्रेसलाई कस्तो पार्टी बनाएर विश्राम लिन चहानु हुन्छ ? व्यक्तिगत रुपमा देउवालाई त नेपाली कांग्रेसले ठूलो गुण लगाएको छ । २०४८ देखि निरन्तर संसदमा रहनु, पाँच पाँच पटक प्रधानमनत्री हुनु, दुई कार्यकाल पार्टीको सभापति भएर राष्ट्रिय अन्तर्राष्ट्रिय छवी बनाउनु सामान्य कुरा होइन । यही अवसर देउवाभन्दा बरिष्ठ, बढी त्याग गरेका, जेल बसेका, क्षमता भएका अन्य नेताहरुले प्राप्त गर्न सक्नुभएको छैन । संयोगवा भाग्य जे भए पनि देउवाले नेपाली कांग्रेसको माध्यमबाट राजनीतिमा होमिएर धेरै प्राप्त गर्नु भएको छ । जानकारहरु भन्छन् कि ‘शेरबहादुरले आफ्नो योगदान, क्षमता र प्रयासभन्दा संयोग र भाग्यले धेरै प्राप्ति गरे ।’ यस्तो अवस्था थोरै व्यक्तिलाई मात्र प्राप्त होला । साँचो कुरा पनि हो– अति बद्नाम भएर वा गराएर नै भए पनि घुमिफिरी देउवाकै वरिपरी आएको छ । कम्युनिष्ट पार्टीको बहुमतको सरकारले कार्यकाल पूरा नगरी देउवाको हातमा पु¥याउने काम गरे । मै हुँ भन्ने कम्युनिष्टहरुले प्रधानमन्त्री बनिदिन प¥यो भनी देउवाको दैलोमा नै पुगेर अनुनय विनय गरे । अर्थात् यी सबै प्राप्ति उपलब्धी र उचाइ बनाउने काम नेपाली कांग्रेस पार्टीको कारणबाट भएको हो । यस अर्थमा यो पार्टीलाई जनताको आस्था, विश्वास र भरोसाको केन्द्र बनाउनुपर्ने दायित्वबाट शेरबहादुर देउवा भाग्न पाउनु हुन्न । पछिल्लो बलियो विश्वास र समर्थनले अझ बढी जिम्मेवार, अभिभावकीय भूमिका प्रदान गरेको छ । यसलाई लोकतन्त्र, देशको समुन्नती र प्रगतिको पथमा लगाउने जिम्मेवारी पनि देउवाकै हो ।
सभापति देउवालाई सफल बनाएर चार वर्षे कार्यकाल पूरा गर्नु अगावै हुने तीन तहको निर्वाचनमा पार्टीको बलियो विजय प्रस्तुत गर्ने, लोकतान्त्रिक प्रणाली र यसका मूल्य र मान्यता स्थापित गर्दै समुन्नत र समृद्ध देश निर्माणको मार्गचित्र कोर्ने कार्यमा सफलता हासिल गर्नुपर्ने चुनौति कांग्रेस केन्द्रीय समितिको काँधमा आएको छ । विगतमा भए गरेका त्रुटी एवम् कमजोरीहरुबाट सिकेर सम्पूर्ण रुपले देश र जनताप्रति उत्तरदायी र जवाफदेही बन्ने संकल्प सभापति देउवाले गर्नुपर्नेछ । आफ्नो सक्रिय जीवनको उत्तराद्र्धमा पार्टीका साथीहरुले गरेको विश्वासर प्राप्त राजकीय जिम्मेवारीलाई संयोजन गर्दै जनताको अपेक्षा बमोजिम अगाडि बढ्ने दृढता देउवाले देखाउनु सक्नुपर्छ । धेरैले नचाहेका र नरुचाएका देउवा प्रधानमन्त्री पनि भएका छन्, पार्टीको सभापति पनि जितेका छन् । अनुमोदन भएको छ, त्यो पनि ठूलो बहुमतका साथ । यसलाई देश, जनता र पार्टीको पक्षमा सदुपयोग गर्ने कुरामा कमी भयो भने त्यसलाई पुनः सच्चाउने अवसर देउवा र उनका सहयोगीहरुलाई प्राप्त हुने छैन ।
पार्टीभित्रका प्रतिस्पर्धीहरुले देउवाको विरोध वा आलोचनाबाट उमुक्ति पाउने होइन, छैन । अन्तिम अन्तिम जिम्मेवारीमा आएका देउवालाई सहयोग गरेर पार्टीको साख बचाउनेतर्फ सबैले केन्द्रित हुन आवश्यक छ । अली बढी आशा राखिएका विश्व र गगनहरुको संयोजनकारी भूमिका र पार्टीको नीति र कार्यक्रममा प्रष्टता अनि जनअपेक्षाको सम्बोधनमा गम्भीरता देखियो भने २००७ देखि आजसम्म लोकतन्त्रको पर्याय बनेको कांग्रेस अझै लामो समयसम्म नेपाल र नेपालीको आस्था, विश्वास र भरोसाको राजनीतिक दलका रुपमा नेपाली माटोमा स्थापित हुनेछ । होइन, लेनदेन, खानपिन, डाङडुङ्गे प्रवृत्ति जसरी तलदेखि हाबी भएको छ, त्यसले नै निरन्तरता पाउने हो, सभापति, महामन्त्री र पार्टीका इमान्दार तथा त्यागी केन्द्रीय समितिका नेताहरुको ध्यान त्यता नजाने, केवल आफ्नो स्वार्थ, गुट र लेनदेनले मात्र प्राथमिकता पाउने हो भने लोकतन्त्र र यसको अर्थ रहने छैन । स्वार्थी र अवसरवादीहरुले पार्टी र सरकारमा कब्जा जमाउने छन् । नेपाली कांग्रेस अझ बढी असान्दर्भिक बन्दै जानेछ ।
कुन बाटो तय गर्ने जीवनको उत्तराद्र्धमा पुगेका देउवालाई कता डोहो¥याउने ? महामन्त्रीद्वयको भूमिका कस्तो रहने ? केन्द्रीय कार्यसमितिले कस्तो भूमिका खेल्ने ? देउवाको रबरस्ट्याम्प हुने वा पार्टीको प्रतिष्ठा बढाउने दिशामा क्रियाशील हुने वा देउवा विरोधी मोर्चा बनाएर त्यसमा नै रमाउने ? छनोट गर्ने चुनौति स्वीकार अगाडि देखिन्छ । केन्द्रीय सदस्य निर्वाचित देउवा पत्नी आरजु राणाको भूमिका कस्तो हुने भन्ने कुराले पनि धेरै प्रभाव पार्छ भन्ने आम बुझाइ छ । त्यसमा गम्भरिता देखाउने वा अवैधानिक शक्ति केन्द्र बन्ने ? सफल बनाउने वा असफल बनाउने ? केन्द्रीय समितिमा भएको प्रवेशपछि श्रीमति आरजु राणाले खेल्ने भूमिकालाई नजिकबाट नियाल्नेहरु बढेका छन् । प्राप्त विश्वासले अझ गम्भीर र पारदर्शी बनाउन आग्रह गर्छ, जिम्मेवार र परिपक्व भूमिकाको अपेक्षा राख्छ । यी र यस्ता विषयमा सम्बन्धित सबै पक्ष इमान्दार भएमा मात्र परिणामको सार्थकता झल्किन्छ ।




