विचार

सभापति देउवालाई अब छुट छैन

सायद वीपी कोइरालाले यस्तो सुन्दर र शक्तिशाली टिम पाउंनु भाएको थिएन । त्यस्तो टिम यही महाधिवेशनबाट शेरवहादुर दाइले पाउनु भाको छ । त्यो पनि आफैंले प्रतिस्पर्धा गरेर खडा गरिएका दुई तिहाई साथीहरुको तर्कपूर्ण उपस्थिति छ ।

अब कोही भागवन्डा माग्न आउंदैन, मिटिङ अनिर्णित कहिल्यैं हुदैन । सहमतिका लागि सहमति खोजी गरेर समय वर्वाद गर्नु पर्ने छैन । अब निर्देशन हुनेछ । काम हुनेछ । बाहिर त अपजसै अपजसका बोक्रा भिरेका शेरबहादुर दाइमा केही भित्री क्षमता पक्कै छ होला ! नत्र पटक पटक राजा र रंकले सत्ताको साचो किन बुझाउथे ?
थप क्षमता देखाउंने सुवर्ण अवसर प्राप्त भएको छ । आफैले खडागरेकाको त कुरै छोडौं, तिमि त्यो पदमा उठ, तिमी त्यस्मा उठ भनेर आफ्ना नामबाट उठाएर जिताएर ल्याएकाहरुकै अत्याधिक संख्या भएको समिति छ । फरक समुहबाट जितेका अलिकति विरोधीहरु पनि तैंले गर्दा कि तैंले गर्दा भनिरहेकै हुन जो आफैं गर्नु पर्ने ठाउंमा आईपुगेका छन । पेलेर काम लगाए पनि तिनिहरुले नाईं गर्ने त परै जाओस हिच्किचाउने सुविधा समेत पाउंने छैनन ।

हुंन त केपी ओलीले पनि पार्टीभित्र यो शक्ति प्राप्त गरेका छन । उनीहरुको चाहिँ शब्दमा झगडा पर्ने हुदा कतै रड्किन्छ कि जस्तो लाग्छ । कांग्रेमा त त्यो पनि त्रास छैन किनकि यहाँ शब्दमा छलफल नै हुंदैन । पार्टीमा यति ठूलो एकता बहुदल प्राप्ति पश्चात पहिलो पटक मिलेको छ । अनगिन्ति अफवहा र आलोचना छिचोलेर नेता निर्माण भएको छ ।

दर्जामा भए पनि नभए पनि पार्टीका साथीहरुलाई उचित सम्मान कायम गरेर अगाडि बढने हो भने जस्तासुकै प्रस्तावहरु पनि सर्वसम्मतिले पास हुने कुरामा विश्वस्थ हुन सकिन्छ ।
आफूले उठाएको कदमको रोक तोक छेक थुन गर्ने कोही नभएको अवस्था सहजै उपलब्ध छ । वास्तवमा यतिको सहज परिस्थिति इतिहासमा विरलै नेताहरुले प्राप्त गरेहोलान । नत्र पहिलो नै हो ।

०६२÷६३ पश्चात नीतिगत रुपमा अलमलिएको कांग्रेसले अब आफ्नो स्पष्ट नीति तय गर्नु पर्छ । वीपी,गणेशमान र किसुनजीले अगालेको बाटोमा कांग्रेसलाई फर्काउने कि गिरिजा बाबू र सुशील कोईरालाले अपनाएको बाटोलाई निरन्तरता दिने ? वा अर्को कुनै नीति अपनाउने ? अब स्पष्ट हुनु जरुरी छ । गणतान्त्रिक कांग्रेस कि लोकतान्त्रिक कांग्रेस ? यो द्विविधाबाट अब प्रष्ट हुनु पर्दछ ।

धार्मिक र सांस्कृतिक जगमा हुर्किएको परम्परागत शक्ति राज्य संञ्चालनको मुल प्रवाहबाट बाहिरिएको छ । यसको व्यवस्थापन के कसरी गर्ने ?राज्य पुनः संरचना गर्दाका असन्तुष्टिका निवारणका लागि के गर्ने ? संविधानका कयौं विवादित विषय र प्रवाधानहरुको सर्वस्वीकार्यताको वातावरण कसरी निर्माण गर्ने ? स्खलित हुँदै गएको अन्तराष्ट्रिय शक्ति सन्तुलन कसरी कायम गर्ने ? उदार वजार अर्थतन्त्रलाई आत्मासाथ गरेर जाने कि लोकतान्त्रिक समाजवादी अर्थतन्त्र अपनाउने ? विपक्षी प्रतिस्पर्धीहरुसँग निकताको दूरी निर्धारण गर्ने कि समान दृष्टि कायम राख्ने ? यस्ता यावत प्रश्नहरु नवनिर्वाचित कांग्रेस कार्यसमिति अगाडि तेर्सिएका छन ।

उमेर र विधान बमोजिम यो कार्यकाल देउवाको संम्भवत अन्तिम कार्यकाल हो । आजसम्म प्राप्त नभएको शक्ति पनि यही पटक प्राप्त छ । अब परिस्थिति भन्दा बहेक अरु कोही कसैलाई दोष थुपारेर उम्कन पाउने छैनन शेरबहादुर देउवाले । यो ऐतिहासिक कालखण्डमा ऐतिहासिक निर्णय लिएर आफ्नो नाम स्वण अक्षरले लेखाउने अवसर प्राप्त गरेका शेरवहादुर देउवा जस अपजसका केवल एकल भागिदार हुनेछन । आफू माथि लागेका ,लगाईएका कट्कटिएका अफवहाहरुका धब्वा पखालेर मुलुकको गति, र लय सापेक्ष नवीन कांग्रेस निर्माण गर्दै मुलुकको सुन्दर भविष्य निर्माणको रेखाङ्कन गर्न सफलता मिलोस । यही शुभकामना सहित फेरि पनि भन्छु अब शेर वहादुर दाइलाई छुट छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *