राजनीति

संसद चल्नै नदिएर एमाले के चाहन्छ ?

काठमाण्डौं । बजेट अधिवेशन मात्र होइन,नेकपा एमालेले हिउदे अधिवेशन पनि रोक्न थालेको छ । मुलत संसदको हिउदे अधिवेशन भनेको कानुन वनाउने अधिवेशन हो । तर, यो अधिवेशन पनि उसले रोक्न थालेको छ । प्रधानमन्त्री शेरवहादुर देउवाले डाकेको सर्वदलिय वैठक वहिष्कार गर्ने, संवादमा नवस्ने अनि संसद रोक्ने कार्यले एमालेको लोकतान्त्रिक छविमा दाग लाग्न थालेको छ तर यसको पनि उसले पर्वाह गरेको छैन । आखिर यसरी अनवरत रुपमा संसदको अधिवेशन रोकेर एमाले के सिद्ध गर्न चाहन्छ ?


पुष ५ गते ससद विघटन गरेपछि तत्कालिन प्रधानमन्त्री केपी ओली चुनावमा जान चाहेका थिए । तर,अदालतले उनको यो निरंकुश चाहनामा अंकुश लगाइदियो । केपी ओली र उनको दल नेकपा एमाले अहिले पनि यहि तुष पालेर बसेको छ । उसले यो तुष केवल अदालतप्रति मात्र राखेको छैन, सहयात्री कमरेडहरु र प्रतिस्पर्धी राजनीतिक दलहरुसँग पनि राखेको छ । तर, उसको यो तुषको मन्द विषको असर भने उसैले पनि लडेर ल्याएको राजनीतिक प्रणाली माथि पर्न थालेको छ । घमण्डको वायुपंखी घोडा चढेर हिडेको नेकपा एमाले र केपी ओली अब यस्तो विन्दुमा पुगेका छन–जसलाई अब कसरी सेफ ल्याण्ड गर्ने भन्ने चिन्ताले सताउनेछ । अर्थात नन रिटर्निङ्ग प्वाइन्टमा पुग्नु भनेको डरलाग्दो कुरा हो । तर,एमालेभित्र हिजो दम्भ,घमण्ड गरेर मान्छेलाइ मान्छे नगन्ने प्रवृत्तिका बाहक केपी ओलीलाई नै पुन: अध्यक्ष बनाइसकेपछि त्यहाँ फेरि पनि दभ्ले जितेको छ । र, पुष ५ को दुर्घटना ठिक थियो भन्ने पक्षले विजयमाला पहिरेका छन । यस्तो बेलामा पुष ५ गलत थियो भन्ने कसले ? यदि यसो भनेमा यसको सुनुवाइ हुन्छ ?


एमालेले आज किन संसद रोकिरहेको छ भनेर बहश गर्नु अघि पुष ५ मा पुग्नैपर्छ । के पुष ५ ठीक थियो ? अदालतले नै यसलाई वेठिक थियो भनेपछि अब फेरि जिद्धि गर्नु भनेको उचित होइन तर केपी ओलीले हाकेको एमालेमा यसको बारेमा खुलेर बाेल्ने कसले ? तर यसमा बाेल्न विलम्व हुदा उग्रवामन्थी झुकाव छाडेर लोकतान्त्रिक बाटोमा हिडेको नेकपा एमाले केपी ओलीको घमण्डको वायुपंखी घोडामा सवार हुन थालेपछि दिनप्रतिदिन फस्दै जान थालेको छ । संसदीय लोकतन्त्रमा खारिएको एमालेकै क्रियाकर्मले कतै यहि प्रणालीमा किरा पर्ने त होइन ? सवाल खडा भएको छ ।


संसदको हिउदे अधिवेशन भनेको विधि अर्थात कानुन निर्माण गर्ने अधिवेशन हो । तर,यो अधिवेशन प्रारम्भ भएको मितिदेखि नै संसदको ढोकामा भोटे ताल्चा लगाएर एमाले साचो हातमा लिएर बसेको छ । दुई तिहाई वहमुतबाट संसदको ठुलो दल भएर पनि विपक्षमा बस्नु पर्दा पनि एमालेले कहाँ भुल भयो भनेर समिक्षा नगर्ने हो भने अबको चुनावको नतिजाको सामना गर्न तयार हुनुपर्छ । कार्यकर्तापंक्तिमा दम्भले स्थान पाउला तर जनस्तरमा यो किमार्थ सह्य हुनेछैन । पटक पटक चुनाव लडेर हार जित दुवैको माला पहिरिएको एमालेले यति कुरा बुझन किन विलम्व गरेको ?


संसद रोक्नुको पछाडि उसले माधव नेपाल र सभामुख अग्नि सापकोटालाई कारण मानेको छ । तर, माधव नेपालसँग पार्टी फुटदैमा यत्रो वैरभाव राख्नुपर्ने हो र ? राजनीतिमा स्थायी शत्रु र मित्र हुदैनन भन्ने हेक्का के एमालेलाई छैन ? नेपालसँग मनमुटाव हुनु,उनीसँग मित्रवत सम्वन्ध नहुनु एउटा कुरा तर प्रधान दुश्मन नै करार गरेर हिडनु उचित हो ? नेपालसँग मन नमिल्दा अन्य नेतालाई जस्तै अलग दल बनाउने स्वतन्त्रता छ । जुन कानुनको प्रयोग गरेर ओली सांसद छन,उसैगरि नेपाल पनि सांसद छन । संविधान कानुनले परिभाषित गरे अनुसार,सभामुख काम गरिरहेका छन भने माधव नेपालले अलग दल बनाएका छन । तर,पनि अराजनीतिक ढंगबाट ओली जसरी हिडेका छन,के यसले यो राजनीतिक प्रणालीलाय खराव गर्दैन ? राजावादी चाहेर र ओलीले नचाहेर तर उनका हर्कतले कतै देश दक्षिणपन्थी बाटोमा त जादैन ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *