पानीमुनि पोखरीमा रूखको छ छायाँ
हाँगापात छहारीले बिर्सिएन माया ।१।
कर्कलाको पानी हो कि मानिसको जुनी ?
हाँसूँ खेलूँ लाग्दा लाग्दै कैले जान्छ कोनि ? ।२।
मरिनेछ भने पनि बाँचिर’न्छु लाग्ने
रहिंदैन यहाँ तर सधैं हुन्छु लाग्ने ।३।
जुनी रै’छ कहानी यो आशा जिन्दगानी
सुखदुःख हाम्रो यात्रा घामछायाँ पानी ।४।
हिजोजस्तै लाग्छ कोही जन्मिएको दिन
घुम्तीजस्तो जवानी यो बाल बृद्घ किन ?।५।
हिंड्दाहिंड्दै खाँदाखाँदै चिनिंदैन रूप
संसार यो ख्यालठट्टा बदलिन्छ खुप ।६।
पुरानो भै कतिबेला लुगा जीर्ण बन्छ ?
छायाँ थियो मायाँ दिदै रहँदैन जान्छ ।७।
चिता हाँस्ने मलामी र आफन्ती ती रुने
श्राप ताप के हो जुनी ? शून्यतामा हुने ।८।
* * *
मादी न.पा.– ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर




