कांग्रेसको चार तारा मध्ये एक ताराको अर्थ हो–सहिष्णुता । प्रजातन्त्र,राष्ट्रियता र समाजवाद अरु तिन तारा हुन । पञ्चायतको कालकोठरीमा पनि कांग्रेसको यो नारा र झण्डाको तारा वदलिएन । वरु फहराइरहेको ताराहरु अरु चम्किए ।
चौधौं महाधिवेशनको मध्य भागमा रहेको नेपाली कांग्रेसले एक हातमा पार्टीको चारतारे झण्डा र अर्को हातमा राष्ट्रिय झण्डा वोकेर महाधिवेशन गरिरहेको छ । यो महाधिवेशन २७ गते सम्पन्न हुनेछ । तर भृकुटीमण्डपबाट बाहिर निस्कने कांग्रेसले यो देशको तिन करोड जनतालाइ दिने सन्देश के हो ?
प्रजातन्त्र पुर्नवहालीपछिका तिन दशकमा पनि नेपालको लोकतन्त्र सुरक्षित छैन । अहिलेसम्म कहिले उग्रक्रान्तिकारी त कहिले दक्षिणपन्थीबाट प्रजातन्त्रमाथि प्रहार भइरहेको छ । प्रजातन्त्रको हिमायती नेपाली कांग्रेसको मुल अभिभारा नै राष्ट्रियताको सम्वद्र्धन गर्दै प्रजातन्त्र उन्नत वनाउनु हो । यो क्रममा संविधानको घेरो वारम्वार नाघने दरवार विस्थापित भएको छ । प्रजातन्त्रको मुल्य र मान्यताप्रति आँच पुरयाउने र वार नाघेर प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिलाइ आघात पार्ने यो तत्व नरहेपनि यो सोच र संस्कार भने कायमै छ । नेपालका उग्रवामन्थी शक्ति अहिले पनि प्रजातान्त्रिक हुन सकेका छैनन । तर पनि प्रजातन्त्रको यो ७०बर्षे दौडमा कम्युनिष्ट शक्तिलाइ प्रजातन्त्रप्रति प्रतिवद्ध गराउदैमा नेपालको लोकतान्त्रिक आन्दोलनको उर्जा र समय खेर गएको छ । र,अझै पनि वैज्ञानिक समाजवाद र साम्यवाद भन्ने विप्लव र वैद्यहरु कायमै छन ।
चौधौं महाधिवेशनमा नेपाली कांग्रेसले एउटा अभ्यास गरेको छ र यसमा उ सफल पनि भएको छ । चितवनमा एमालेले महाधिवेशन गरयो तर यसमा एमालेबाट टुक्रिएको नेकपा एकिकृत समाजवादीलाइ निम्ता समेत गरिएन । नेकपा माओवादी केन्द्रलाइ वोलाइयो तर प्रचण्ड गएनन । यता काठमाण्डौंमै गत साता राप्रपाले अधिवेशन गरयो र यसमा एमालेलाइ निम्ता गरयो तर अध्यक्ष केपी ओली गएनन र प्रतिनिधिलाइ पठाइदिए । तर,यो राउण्डको अन्तिम अधिवेशन कांग्रेसले शुक्रवार गरयो । यसमा माधव–प्रचण्ड तथ गठवन्धनमा कांग्रेससंग भएकोले स्वभाविक रुपमा आउने नै भए तर विरामी भएका केपी ओली समेत आए । मञ्चमा वसे । माधवसंग उनको सम्वाद खास भएन तर प्रचण्डसंग हासी हासी वोले । विचमा देउवा थिए र दुइ छेउमा ओली र प्रचण्ड गफिए । एक अर्काको मुख समेत हेर्न नरुचाउने,सार्ववजनिक मञ्चबाटै गद्धार र धोकेवाज भन्दै गाली गलौज गर्ने नेताहरुले कांग्रेसको मञ्च मिस गर्न चाहेनन–विसञ्चो हुदा पनि । यो लोकतान्त्रिक शक्तिको विजय । र,ब्यानरमा कम्युनिष्ट भनेपनि उनीहरु पनि लोकतन्त्र र प्रजातन्त्र वारम्वार भन्छन र यहाँ भन्दा पर जान सकिन्न भन्छन । यहि हो–कांग्रेसको विजय ।
भनिन्छ–संसार वदल्न सकिन्छ तर आफुलाइ वदल्न कठिन छ । यसैले महापुरुषहरु भन्छन–दुनिया वदल्नु अघि आफु वदलिनु । नेपालका उग्रवामन्थी र उग्र दक्षिपन्थीलाइ प्रजातन्त्रको दियो वालेर वाटो देखाउने कांग्रेसले यहि अधिवेशनबाट एउटा सन्देश दिन जरुरी छ । लोकतन्त्रवादी कांग्रेसले दिने सन्देश हो–सहिष्णुताको । सवै खालको सहिष्णुता । पार्टीभित्र र वाहिर । परराष्ट्रसम्वन्ध देखि आपसी सम्वन्धसम्म । र,यहि अधिवेशनबाट मत जित्ने कुरा मात्र होइन,जनताको मन जित्ने काम गर्नुपर्छ ।
कांग्रेसको यहि अधिवेशनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले भनेको कुरा मार्मिक र मननयोग्य छ–उनले जनताको नजरमा नेताहरुको इज्ज्त घटेको छ । उनले जनजिव्रोको भाषा टपक्क टिपेर चोर भनेका हुन । अब यसलाइ वदल्नुछ । खस्केको इज्जत पुन आर्जन गर्नुछ । कसरी ? ब्यवहारबाट,आचरणबाट,संस्कारबाट । र,यसको सुरुवात कांग्रेसले गर्नुपर्छ । भ्रष्टाचार, अत्याचार, वलात्कार, चोरी,डकैती,अपचलन,गालीगलौज,नकारात्मक घृणा अहिले राष्ट्रिय चरित्र भएको छ । यसलाइ वदल्ने अठोट कांग्रेसले गर्नुपर्छ । हामी विदेशीलाइ सस्तो कामदार उत्पादन गर्ने कारखाना भएका छौं,यसलाइ वदल्नुपर्छ । राष्ट्रिय भावना जगाउनुपर्छ । हिन भावना हटाउनुपर्छ । गिरेको मनोवल उकास्नुपर्छ । यसको लागि आशावादी नेता पैदा गर्नुपर्छ । आशाको दियो वाल्नेको जगेर्ना गर्नुपर्छ । कांग्रेसले यो राष्ट्रिय अठोट गरोस । देश जुरुक्कै उठनेछ ।




