नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी राजनीतिक दल चौधौं महाधिवेशनबाट कस्तो नेतृत्व छनोट गर्दैछ ? भन्ने आम चासाको विषय छ । तल्लो तहदेखि नै निर्वाचन र सहमतिका आधारमा छनोट भएका प्रतिनिधिहरुबाट धेरै आशा गर्ने ठाउँ नभए पनि निर्णयको घडीमा उपलब्ध विकल्पहरु मध्य उत्तम विकल्प छनोट हुन्छ कि भन्ने झिनो आशा कायम नै छ । अधिवेशनमा देखिएको विकृतिले राजनीतिक शुद्धिकरण तथा परिस्कार नआए पनि खराब नेतृत्व चयन भएन भने संस्थाको विश्वसनीयता बाँकी रहन्छ । बाँकी रहेको विश्वसनीयता र आस्थालाई मलजल गरेर देश र जनताप्रति उत्तरदायी बनाउन सक्ने भावी पुस्ता जन्मिएमा त्यसले आकार ग्रहण गर्न पाउँथ्यो कि ? भावी पुस्ताको जिम्मेवारी भित्र आउन सक्ने अवस्थामा जोगाउने न्यूनतम दायित्व निर्वाह गर्न देशभरका कांग्रेस कार्यकर्ताहरुले अधिवेशन प्रतिनिधिहरुसँग अपेक्षा राखेका छन् । कति जिल्लामा त्यहाँका नेता कार्यकर्ताहरुको चरम व्यक्तिगत स्वार्थका कारण बढ्न अधिवेशनसमेत हुन सकेको छैन भने कति स्थानमा गाली पनि चल्यो । यसले अधिवेशन वैचारिक, नीतिगत र सैद्धान्तिक छलफलमा आधारित नहुने निश्चित गरिसक्यो । माथिल्लो तहका नेताहरुका बीचमा लेनदेन र भागवण्डाको उधारो र हाताहाती बार्गेनिङ चलिरहेको समाचारले प्रमुख स्थान पाएकै छ । सरसर्ती हेर्दा सुधार र तलबाट हुन सकेको छ, न त माथिबाटै नै त्यो इच्छाशक्ति देखाइएको छ । आफू कसरी सुरक्षित हुने भन्ने मान्यता र मानसिकता राखी रणनीति र कार्यनीति गरिएको स्पष्ट महसुस भएकै विषय हो । कांग्रेस पार्टीको साँख र पूँजीलाई जोगाउने र प्रवद्र्धन गर्ने सोच, चिन्तन, जाँगर र योजना बिनाको संवैधानिक बाध्यताको महाधिवेशनबाट धेरै अपेक्षा राख्नु नै मुर्खता हो ।
तर पनि लोकतान्त्रिक नेपालको अग्रणी राजनीतिक दल हुनुको नाताले कांग्रेसप्रतिको अपेक्षा समाप्त भएको छैन । त्यो अपेक्षा अनुरुपको नेतृत्व चुन्ने काम सम्पन्न गर्न सक्ने प्रतिनिधिहरुको अभावमा महाधिवेशन कर्मकाण्डी मात्र हुने देखिन्छ । बिहानदेखि बेलुका नेताहरुको दैलो धाउने, पैसा र पाखुरा चलाउने, कहिल्यै रुख चिन्हमा मतदान नगर्ने, राज्यकोषमाथि व्ययभार पारेर आफू सर्वशक्तिमान बन्ने सपना देखेर, देखाएर र अनुकरण, अनुशरण गरेर राजनीतिक आकर्षण बढाएकाहरुसँग खासै दृष्टिकोण पनि हुँदैन । आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने, गराउने भन्दा माथि उठेर सोच्ने फुर्सद नै प्राप्त छैन । यस्ता कार्यकर्ताहरुबाट छनोट हुने नेतृतव फरक होला जस्तो पनि छैन । कसले कति खरिद बिक्री गर्न सक्छ, उसकै पल्ला भारी हुने छाँटकाँट छ । तलदेखि नै यसरी आएको प्रतिनिधिले आफ्नो प्रतिनिधिमाथि त्यही प्रक्रियाबाट छनोट गर्छ भन्ने अनुमान नै स्वभाविक होला । वडा, पालिका, प्रदेश, क्षेत्र, जिल्लाका अधिवेशनमा त्यहाँका ठेकेदारहरुले टेन्डर नै हाले । आफ्नो हैसियत अनुसारको रकम लेनदेन गरेर प्रतिस्पर्धामा सहभागी भए । जिताउने हराउने अभियानमा ठूलो रकम खर्च भएको छ । यसरी खर्च लिने दिनेहरुले नेपाली जनताको अपेक्षा र राष्ट्रिय आवश्यकता सम्वद्धन गर्न सक्ने नेतृत्व चयन गर्न सक्छन त ?
देशभरिबाट आएका प्रतिनिधि, कांग्रेससँग आस्था राख्ने मानिस बौद्धिक समुदाय, पत्रकार र कांग्रेसका नेता तथा कार्यकर्तासँग छलफल, कुराकानी हुँदा अधिकांश जिल्लामा असी प्रतिशतभन्दा बढी पार्टी राजनीतिका जिम्मेवारी र अधिवेशन प्रतिनिधिहरु ठेकेदार, डन, विचौलिया र माफिया आएका छन् भन्ने निष्कर्ष निकालिएको छ । यसभित्र पनि राजनीतिलाई जिविकोपार्जन र आय आर्जनको व्यवसाय बनाएका, आफ्नो कमबेसी प्रभाव तथा योगदानलाई टेण्डर गरी खरिदबिक्री भएका अली पुराना र राजनीतिक मानिसहरुले पनि पैसा असुलेर आफ्नो टिममा समावेश गरी उम्मेदवार बनाएका व्यक्तिहरुको बाहुल्यता छ । लगभग सबैले आफ्नो विचार, सिद्धानत, निष्ठा र आदर्शलाई बिक्री गरिसकेको कथा जानकारहरु सुनाउन थालेका छन् । भन्छन्, यिनीहरुसँग आशा नराख्नुस् सबै बिग्रिसकेका छन्, व्यापारी, विचौलिया र माफियाहरु तपाईं हामीलाई विश्वास र भरोसा गरेको व्यक्तिको मूल्य निर्धारण गर्दै हिडेका छन् । त्यस्तै पृष्ठभूमिका मानिसको खोजी गर्ने र उनीहरुसँगको सम्बन्ध उपयुक्त लाग्ने व्यक्तिहरु हाम्रो पार्टीको नेतृत्वमा छन् र नेतृत्वका आकांक्षीहरु पनि अधिकांश त्यस्तै छन् । उनीहरुबाट लोकतान्त्रिक मूल्य, पद्धति र संस्कारको आशा राख्नु नै गलत हो । यसमा आमूल परिवर्तन आवश्यक छ, परिवर्तन गर्ने श्रोत नै दूषित भएपछि सकरात्मक परिणामको रुपमा असल नेतृत्वको चाहना केवल कल्पना मात्र हुन्छ । राज्य व्यवस्था जसरी सीमित घरानाले चलाएका छन्, पार्टी पनि त्यस्तै सीमित व्यक्तिहरुको कब्जामा पुगिसकेको छ । त्यहाँबाट खोसेर आम जनताको बीचमा ल्याउन धेरै कठिन संघर्ष गर्नुपर्ने निष्कर्ष राजनीतिशास्त्रका विद्वानहरुले निकाल्न थालेका छन् ।
जहाँसम्म व्यक्तिको कुरा छ, यिनै सतहमा देखिएकाहरुबाट आउने हो । सतहमा देखिएका आकांक्षीहरुको कुरा गर्दा तिनै दलाल, तस्कर, माफिया र डनहरुको प्रसँग आउँछ । कुनै न कुनै किसिमको सम्बनध बनाएर आफ्नो हैसियत कायम राख्न नेतृत्व तहका व्यक्तिहरुले गलत तत्वहरुको सहयोग, सद्भाव, आर्शिवाद मात्र होइन आर्थिक सक्षमता पनि बढाएको पाइन्छ । सानो देशभित्रका सबै कुरा धेरैको उठबस सरसंगत र परिवारिक पृष्ठभूमि बुझेका मानिस राजनीति गरेर रातारात सम्पन्नता छाएको नजिकबाट नियालिरहेका छन् । त्यसको वैधानिक श्रोत के हो ? भन्ने कुराको चित्तबुझ्दो जवाफ नआएसम्म नेतृत्वका आकांक्षी र उनीहरुका सहयोगीप्रतिको अविश्वास र अनास्था मेटिने छैन । राज्यलाई तहसनहस बनाएर आफ्नो सम्पन्नता, सुख सुविधा तथा हैकम चलाउने प्रवृत्तिका विरुद्ध संघर्षको सहारा लिनुपर्ने अवस्था आएको आम मानिसको बुझाइ छ । ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने लोकोक्ति चरितार्थ गर्ने पात्र र प्रवृत्ति नेपाली राजनीतिमा स्थापित भएको छ । आफ्नो विकल्प नै नदेख्ने, अन्तिम अवस्थासम्म आफू नै सत्ता र शक्तिमा बस्न पाउनुपर्छ भन्ने मान्यताले नेतृत्वका सबै आकांक्षीहरुमा जरा गाँढेको छ । यो लोकतान्त्रिक व्यवस्था हो, यहाँ हरेक जात, क्षेत्र, समुदाय र वर्गका मानिस समान रुपले राज्य व्यवस्थाका हकदार छन् भन्ने सामान्य ज्ञानसमेतको अभाव छ । जसले लुट्न, कुट्न, पेल्न, खेल्न र खेलाउन सक्यो, जो जससँग पैसा छ, उही ठूलो भन्ने बुझाइ रहेसम्म र त्यसकै आधारमा प्रतिनिधितव भएसम्म आशा गर भर नपर नै हुनेछ ।




