काठमाडौँ । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जारी क्षेत्र तथा जिल्ला अधिवेशनको नतिजा आइरहेका बेला सुनसरीमा भने अनौठाको परिणाम सार्वजनिक भएको छ ।
शनिबार बिहान प्राप्त यो परिणाममा सुनसरी जिल्लामा शेखर कोइरालाको अवस्था अत्यन्तै कमजोर देखिएको छ । उनका सहयोगी र भित्रियाहरुले एकपछि अर्काेगरी महाधिवेशन प्रतिनिधिको निर्वाचन हारेका समाचार आएका छन् । यस जिल्लामा शेरबहादुर देउवा पक्षका महाधिवेशन प्रतिनिधिहरु आइरहेका पनि समाचारमा जनाइएको छ ।
पछिल्लो पटक सुनसरी जिल्लाको क्षेत्र नं ३ बाट पूर्वमन्त्री हरिप्रसाद सापकोटा नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । पूर्व गृह राज्यमन्त्री सापकोटा सुनसरीमा शेखर कोइरालाका निकट मात्र होइनन् शेखरको राजनीतिक व्यवस्थापनका भित्रिया पनि हुन् ।
त्यसैगरी सोही जिल्लाको सोही निर्वाचन क्षेत्रबाट गोपाल राजभण्डारीले पनि निर्वाचन हारेका छन् । उनी पनि सुनसरी जिल्लाका जिल्ला समन्वय समिति संयोजक हुन् ।
उता हिजोमात्र शेखर कोइरालाकै प्रमुख प्रचारक पुरञ्जन आचार्यले पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचन हारेका थिए । उनी नेपाली काँग्रेसको निकट रहेर विश्लेषण गर्ने गर्दछन् र सधैँजसो नै शेरबहादुर देउवाको मात्र विरोध गर्ने गर्दछन् ।




