रिबन

सर्वसम्मत पदाधिकारी चयन गर्न सभापति देउवाको आग्रह

सुनसरी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गरेका छन् ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आज (आइतबार) गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरे ।

उनले पार्टीको क्षेत्र, जिल्ला, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अध्यक्षसहितका पदाधिकारी सकभर सर्वसम्मतरूपमा चयन गर्न आग्रह गर्दै त्यसो नभए स्वच्छ प्रतिष्पर्धाबाट चयन गर्न अनुरोध गरे ।

उनले पार्टीभित्रैको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धाको हिसाबले नभई सकभर सर्वसम्वत नभए लोकतान्त्रिक पद्दतिअनुसार स्वच्छ निर्वाचन गरेर पदाधिकारी चयन गर्नका लागि आग्रह गरे ।

पार्टीभित्रको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धा भए आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तामा द्वन्द्व हुनुका साथै पार्टीलाई समेत आउने निर्वाचनमा घाटा हुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवाले नेता तथा कार्यकर्तालाई सचेत गरे ।

उनले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि, विकास निर्माण लगायतका क्षेत्रमा भएको समस्या समाधान गर्नका लागि आफूू प्रतिबद्ध रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *