काठमाडौँ । सरकारले राष्ट्रिय सभा निर्वाचनका लागि मिति तोकेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आगामी माघ १२ गतेका लागि राष्ट्रिय सभाको निर्वाचन तोकेको हाे ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार निर्वाचन आयोगसँगको परामर्शपछि राष्ट्रिय सभाका झन्डै १ तिहाइ सदस्यका लागि माघ १२ गते निर्वाचन हुने भएको हो। आगामी फागुन २० गतेबाट राष्ट्रियसभाका २० सदस्यको कार्यकाल सकिँदैछ ।
नेकपा(एमाले)का आठ, नेकपा(एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्यको कार्यकाल समाप्त हुनेछ ।
पदावधि समाप्त हुनेमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, खीमकुमार विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, दृगनारायण पाण्डे, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दीनानाथ शर्मा, नैनकला ओझा, राधेश्याम अधिकारी, रामलखन चमार, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर छन् ।
त्यस्तै,राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन् । बिडारी भने राष्ट्रपतिबाट विषयविज्ञका रूपमा मनोनित सदस्य हुन् ।
विसं २०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो । स्थायी सदन भएकाले राष्ट्रियसभाका एकतिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ ।




