काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा एमालेकोको कार्यकर्ताको भुमिका निर्वाह गरेको अरोप लगाएका छन् ।
मुख्यमन्त्री राईले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा नेकपा एमालेका सांसद नआएपछि सभामुख भण्डारीले बैठक बुधबार दिउँसो साढे ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।
बैठक स्थगित भएपछि मुख्यमन्त्री राईले सभामुखको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै सभामुखको भूमिकामा प्रश्न उठाएका हुन् । मुख्यमन्त्री राईले सभामुखले एमालेको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको आरोप लगाए । एमालेको निर्देशनमा प्रदेशसभा बैठक स्थगित गरेको उनले आरोप लगाए ।
प्रमुख विपक्षी दलले दुख दिने नियतले मात्र आजको बैठक रोक्न आग्रह गरेको र सभामुखले एमालेको निर्देशन मानेर बैठक स्थगित गरेको उनको भनाई छ ।
‘विहानसम्म मसँग प्रोसिड्युर (विश्वासको मत लिने प्रक्रिया) बारे छलफल गर्नुभएको थियो, एमालेको तर्फबाट खबर आएपछि निर्णय वा निर्देशन अनुसार यो काम गर्नुभएको छ । यो राम्रो भएन’ मुख्यमन्त्री राइले भने ।
एमालेले सभामुख भण्डारीलाई आफ्नो सांसदमा गणना गर्ने गरेको भन्दै मुख्यमन्त्री राईले सभामुखले पनि त्यो कुरा व्यवहारमा देखाएको बताए ।
मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार प्रदेशसभा बैठक बोलाइएको थियो । एमालेले भने विप्लव समूहले गरेको बन्दका कारण आफ्ना सांसदहरु प्रदेशसभा बैठकमा सहभागी हुन नसक्ने भन्दै स्थगित गर्न माग गरेको थियो ।




