काठमाडौं । नेकपा नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहले आज (मंगलबार) नेपाल बन्दको आह्वान गरेको छ । विप्लव समूहले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आज नेपाल बन्द आह्वान गरेको हो ।
बन्दको दिन विहानै प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना, दमौलीबाट ११ जना बन्दकर्तालाई विहानै पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
एसएसपी सिंहका अनुसार काठमाडौं उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । बन्दको क्रममा कुनै अप्रिय घटना नभएको उनले जानकारी दिए ।
बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् । सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् ।
लामो यात्रा गरेर बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका छन् ।
काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कमै मात्रामा देखिएको छ । काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर अघिल्ला दिनको तुलनामा कमैमात्र चलेका छन् ।




