काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनका लागि ५८ जिल्लामा प्रतिनिधि छनोट भएको छ भने १९ जिल्लामा प्रतिनिधि छनोटमा विवाद भएको छ । विवादकै कारण १९ जिल्लामा आइतबार साँझसम्ममा प्रतिनिधि छनोट हुन सकेको छैन ।
एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले ५८ जिल्लाका साथै जनसंगठन, विभाग तथा विशेष कमिटीतर्फका सबै प्रतिनिधि सहमतिमै चयन भएको बताए । प्रतिनिधि छनोट हुन बाँकी जिल्लाको समेत सोमबारसम्ममा सकिने उनले बताए ।
अहिले विभिन्न ठाउँमा सर्वसम्मत प्रतिनिधि छनोटका सूचना आइरहेको र ३० कात्तिकमा महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी एमालेले गरेको छ ।
सदस्यता विवाद, प्रतिनिधि हुनेको नेताको संख्या बढी भएकाले कतिपय ठाउँमा निर्वाचनबाटै प्रतिनिधि छनोट भइरहेकाले केही ढिलाइ भएको हो । एमालेले शनिबार देशैभरि एकै दिन महाधिवेशन प्रतिनिधि छनोट सुरु गरेको हो ।
उदयपुरमा एक, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका एक÷एक क्षेत्रमा निर्वाचन भएको छ । बाँकीमा सहमतिकै आधारमा प्रतिनिधि चयन भएका भएको छ । यस्तै, केही जिल्लामा सदस्यता विवादसमेत देखिएको छ ।
प्रदेश १ को पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर, बाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुरमा प्रतिनिधि छनोट भइसकेको छ ।
यस्तै, उपत्यका विशेष कमिटीतर्फ पेसागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, गण्डकी प्रदेशको गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ, लुम्बिनी प्रदेशको गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया जिल्लामा समेत प्रतिनिधि छनोट भइसकेको छ ।
कर्णाली प्रदेशको हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत, सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा प्रतिनिधि चयन कार्य सम्पन्न भइसकेको छ भने कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया अझै जारी नै रहेको सचिव भट्टराईले जनाएका छन् ।




