काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले सपथ लिएका छन् ।
कर्णाली प्रदेशका प्रमुख गोविन्द्र प्रसाद कलौनीसँग मुख्यमन्त्री शाहीले सपथ लिएका हुन् । नेकपा माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि कांग्रेस नेता शाही मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
मुख्यमन्त्री शाहीलाई कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीका २१ सांसदहरुको समर्थन रहेको छ । ३५ सांसद रहेको कर्णाली प्रदेशमा १८ जना प्रदेश सांसदहरु हुँदा बहुमत पुग्ने अबस्था रहेको छ ।
को हुन् शाही ?
अमेरिकामा पाइलट कोर्स सम्पन्न गरेर दुई वर्षसम्म जहाज उडाएका पाइलटको जागिर छोडेर पूर्णकालिन राजनीतिमा लागेका थिए ।
विक्रम सम्वत् २०२१ साल फागुन २१ गते हुम्लाको खार्पुनाथ गाउँपालिकामा जन्मेका शाही नेपाली कांग्रेस हुम्लाको संस्थापक सभापति समेत हुन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका शाही पूर्वपर्यटनमन्त्री समेत हुन् ।
बुढानिलकण्ठ स्कुलमा विद्यालय शिक्षा लिएका शाहीले त्रिचन्द्र बहुमुखी क्याम्पसबाट आइएस्सी र त्रिभूवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा माष्टर डिग्री गरेका छन् । शाही कर्णाली प्रदेशबाट कांग्रेसको एकमात्रै निर्वाचित सांसदका रुपमा रहेका छन् ।




