गण्डकी प्रदेश

मन्त्री मनाङेको सम्पत्ति विवरण सार्वजनिक कति छ सम्पत्ति ?

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मन्त्री भएको ५ महिनापछि मनाङेले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू ऋणमा रहेको उल्लेख गरेका छन् ।

सम्पत्ति विवरणमा मन्त्री मनाङेले आफूसँग २२ तोला सुन, ४५ तोला चाँदी र मुगाको माला ८३ तोला रहेको उल्लेख गरेका छन् । उनले सुन वैदेशिक रोजगारी र व्यापार व्यवसायबाट कमाएको उल्लेख गरेका छन् भने मुगा पैतृक सम्पत्तिका रुपमा रहेको बताएका छन् ।

त्यस्तै उनले सांसद र मन्त्री हुँदा प्राप्त गरेको १० लाख ४९ हजार ५३६ रुपैयाँ एभरेष्ट बैंक पोखरामा मौज्दात रहेको उल्लेख गरेका छन् ।

मन्त्री मनाङेले आफूसँग कुनै घर र सवारी साधन नभएको बताउदै संघर्ष गाईभैंसी प्रालि नामक आफ्नो फार्ममा २० वटा भैंसी र ५ वटा गाई रहेको जनाएका छन् ।

मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं–२९ धर्मस्थलीमा कित्ता नम्बर २४, ६७, ७६ को जग्गा प्रतिआना ९ लाख रुपैयाँमा किनेको उल्लेख गरेका छन् ।

यसैगरी उनले मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरि–२ मा ३ रोपनी जग्गा रहेको उल्लेख गरेका छन् । मकवानपुर, पदमपोखरीमा १ रोपनी ९ आना १० दाम संयुक्त जग्गामध्ये छोराको नाममा १५ आना जग्गा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री मनाङेले कर्म गुरुङसँग ४० लाख, रमेश रानासँग ४० लाख, मनाङ फलफूल सप्लायर्ससँग ६० लाख, टीका भण्डारीसँग २ करोड ३५ लाख, टासी गुरुङसँग २ करोड ३५ लाखसहित कूल ६ करोड १० लाख रुपैयाँ ऋण भएको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *