विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । आज बसेको प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री आचार्यले राजीनामा दिएका हुन् ।
भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका आचार्य ६५ दिन मुख्यमन्त्री बनेर राजीनामा दिएका हुन् । नेकपा एमाले विभाजित भएपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका थिए ।
विपक्षी गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय यसअघि नै गरेको छ ।
९२ सदस्यीय प्रदेश १ को प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ । अहिले एमालेका ४१ सांसद छन् भने विपक्षी गठनबन्धनमा ५० सांसद रहेका छन् । जसमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका एक सांसद कुनै पक्षमा देखिएका थिएनन् ।
योसँगै अब एमालेको नेतृत्वमा कुनै पनि प्रदेशमा सरकार रहेको छैन । एमालेले यसअघि बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशमा आफु नेतृत्वको सरकार गुमाएको थियो ।




