नेपालकाे लाेकतान्त्रिक आन्दोलनमा सशक्त रूपमा क्रियाशील महिला नेतृ हुन् महालक्ष्मी उपाध्याय ‘डिना’ । कांग्रेसकी प्रभावशाली नेतृ उपाध्याय लामो समयदेखि राजनीति र महिला सशक्तीकरणको पक्षमा खरो रूपमा उभिँदै आउनु भएको छ । लामो समय कांग्रेस केन्द्रीय समितिमा रहेर काम गर्नुभएकी उपाध्याय मकवानपुरबाट संसदीय तीनपटक निर्वाचनसमेत लड्नु भयो । बौद्धिक, निर्भीक, निडर स्वच्छ छविकी प्रभावशाली नेतृको रूपमा कांग्रेस वृत्तमा परिचित हुनुहुन्छ । पूर्वजलस्रोेत राज्यमन्त्रीसमेत रहनुभएकी उपाध्याय कांग्रेसको १४औं महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिने तयारी गरिरहनुभएको छ । कांग्रेस केन्द्रीय सदस्य उपाध्यायसँग संकल्प खबर डटकमका सम्पादक गोकुल खत्रीले गरेको कुराकानीको सम्पादित अंश :
राजनीति के हो, कस्तो हुनुपर्छ ?
राजनीति भनेको सबै नीतिहरूको मूल नीति हो । सबै नीतिहरू राजनीतिसँग अन्तरसम्बन्धित हुन्छन् । र, राजनीतिले सबै नीतिहरूको दिशानिर्देश गर्छ । लोकतान्त्रिक शासन व्यवस्थाका मूल्यमान्यतालाई शिरोधार्य गर्दै मुुलुक र जनतालाई केन्द्रमा राखेर राजनीति गरिनुपर्छ । बीपी कोइरालाकै पालादेखि राजनीति मुलुक र समग्र जनताको हितमा समर्पित हुँदै आएको छ । राजनीति जनसेवामै केन्द्रित हुनुपर्छ । मुलुकको समृद्धि, विकास र लोकतान्त्रिक शासन व्यवस्थाको स्थायित्व कसरी गर्न सकिन्छ ? भन्ने चिन्तन र बहस राजनीतिमा अपरिहार्य छ । कांग्रेसले त्यहीअनुरूपको राजनीति गर्दै आएको छ ।
नेपाली कांग्रेस आफ्नो परिकल्पनाअनुरुपको राजनीतिक लक्ष्य हासिल गर्न सफल भएको छ त ?
नेपाली कांग्रेसले अझै आफ्नो परिकल्पानअनुरूपको लक्ष्य हासिल गर्न सकेको छैन । हाम्रो ध्यान स्थापनाकालदेखि नै लोकतन्त्र, समाजवाद र समुन्नत नेपाल निर्माणको पक्षमा केन्द्रित छ । मुलुकमा लामो समय अस्थिरता निम्त्याउने शक्ति हाबी भए । ती शक्तिका कारण विषम राजनीतिक परिस्थिति सिर्जना भयो । हाम्रो अधिकांश समय लोकतान्त्रिक आन्दोलनमै बित्यो । विधि र पद्धतिलाई लिकमा ल्याउन हामी सफल भयौं पनि । हाम्रै नेतृत्वमा सम्पूर्ण परिवर्तन सम्भव भए । बहुविध समस्या खडा भएका कारण नेपाली कांग्रेसले लिएको लक्ष्यअनुरूप राजनीति गन्तव्यमा पुगेको छैन । लोकतान्त्रिक पद्धतिको विकासको क्रममा भने हामी अगाडि बढिरहेका छौ । बीपी कोइरालाद्वारा प्रतिपादित सिद्धान्त र आदर्शले कांग्रेसलाई जहाँ पुर्याउने लक्ष्य थियो, त्यहाँ पुग्न नसकेको चहि पक्कै हो । यद्यपि हामी लक्ष्यमा पुग्न भने प्रयन्तरत छौ ।
राजनीतिमा तपाईंको प्रेरणा स्रोत के हो ?
म आफ्नै परिवारको प्रेरणाबाट राजनीतिमा आएकी हुँ । मेरो हजुरबुबा उदयनाथ अधिकारीको कांग्रेस राजनीतिमा ठूलो योगदान छ । मेरो हजुरबुबा राणा शासन उन्मूलनकै लागि संघर्षमा उत्रिएर अगाडि बढ्नु भएको व्यक्ति हो । उहाँ चितवन कांग्रेसको संस्थापक सभापति नै हुनुहुन्थ्यो । कांग्रेस भएकै कारण १२ वर्ष जेल बस्नु प¥यो । मेरा दाजुदिदीहरू पनि नेविसंघको सक्रिय राजनीतिमै हुनुहुन्थ्यो । पछि बुझ्दै जानेक्रममा बीपी कोइरालाको आदर्शबाट म झन् प्रभावित भएर विद्यार्थी राजनीतिमा सक्रिय भए । विद्यार्थी राजनीति कालमा बीपीका विचारहरू धेरै अध्ययन गरे । मेरो बीपी कोइरालासँग प्रत्यक्ष भेटघाटको अवसर त मिलेन । तर पनि उहाँकै विचार र आदर्शको प्रभावले म राजनीतिमा लागेकी हुँ । जतिबेला म विद्यार्थी राजनीतिमा लागे त्यतिबेला पञ्चायती व्यवस्था थियो । मेरो हजुरबुबा जतिवेला प्रजातन्त्र पुनर्बहालीका लागि लडिरहनु भएको थियो । म त्यतिबेला राजनीतिमा पञ्चायत शासनको अन्त्य र प्रजातन्त्र पु्नर्बहाली हुनुपर्छ भनेर अन्दोलनरत थिए । लैनचौरमा कन्या स्कुल अध्ययन गर्दादेखि नै म राजनीतिमा संलग्न भइसकेको थिएँ । त्यसपछि पद्मकन्या क्याम्पसमा अध्ययन गर्दा प्रजातन्त्र पुनर्बहालीकै मूल उद्देश्य बोकेर राजनीतिमा सक्रिय भएँ । र, आजसम्म नेपालको लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्नुपर्छ भनेर राजनीतिमा निरन्तर रूपमा सक्रिय छु ।
तपाईँ आफ्नो राजनीतिक जीवनदेखि सन्तुष्ट हुनुहुन्छ ?
हामी राजनीतिकर्मीका लागि राजनीतिक जीवनभन्दा पनि देश र जनता प्राथमिकतामा हुने गर्छन् । जनताप्रति उत्तरदायी पार्टी नेपाली कांग्रेसले जनताको अपेक्षाअनुरूप काम गर्न नसकेको आरोप खेपिरहेको छ । सांगठनिक रूपबाट पार्टी र जनताका लागि गर्नुपर्ने कामप्रति म सन्तुष्ट नै छु । पार्टीेले जनतालाई सन्तुष्ट हुनेगरी सेवा दिन नसकेकोप्रति भने मेरो असन्तुष्टि छ । पार्टीमा सिर्जना भएको सैद्धान्तिक विचलनको अवस्था विसंगतिप्रति मेरो सन्तुष्ट छैन ।
राजनीतिक दल र राज्य संयन्त्रमा महिलाको प्रतिनिधित्व सन्तोषजनक छ त ?
संविधान निर्माण र लोकतान्त्रिक पद्धति संस्थागत गर्ने पछिल्लो परिस्थितिमा महिलाहरूको उपस्थिति तुलनात्मक रूपमा व्यापक बढेको छ । २०४८ को आमनिर्वाचनमा ५ प्रतिशत महिलालाई उम्मेदवारी अनिवार्य गर्ने भन्ने जुन प्रावधान राखियो त्यो महिलाहरूका लागि महत्वपूर्ण बाटो बन्यो । त्यसपछि २०७२ को नेपालको संविधानले महिलाको कुल संख्याको एक तिहाइ सहभागिता सुनिश्चित ग¥यो । त्यसले हरेक तहमा महिलाको सहभागिता हुने विश्वस्त आधार निर्माण गरेको छ । महिलाहरूको सहभागिताको सुनिश्चितताको प्रावधानलाई अन्तर्राष्ट्रिय जगतले पनि सराहना गरेको हामीले पाएका छौं ।
नेपाल यस्तो देश हो जहाँ प्रगतिशील कानुन बनाएर महिलाको पक्षमा अघि बढेको भनेर धेरै मुलु्कले प्रशंसा गरेका छन् । तर निर्णाय तह र निर्णायक भूमिकामा महिलाहरूको आज पनि न्यून उपस्थिति छ । त्यो कुरामा म सन्तुष्ट छैन । नेपाली कांग्रेसले पार्टीको विधान नेपालको संविधानअनुरूप नै निर्माण गरेको छ । म आफू पनि विधान समितिमा बसेका कारण विधानलाई संविधानअनुरूप एक तिहाइ सुनिश्चित हुनेगरी परिमार्जन गर्न भूमिका खेलें । हिजो हामीले महिलाको सहभागिताको विषयमा पार्टीमा आवाज उठाउँदै गर्दा नेताहरूले कांग्रेसमा महिला नै आउँदैनन्, कहाँबाट महिला ल्याउँछौं भन्नु हुन्थ्यो । १४औं महाधिवेशनमा आइपुग्दा स्थानीय तहमा महिलाको सहभागिता अन्यन्तै उत्साहजनक देखियो । क्रियाशील सदस्य सबै ठाउँमा पु¥याउन नसक्दा अहिले वडा तहमा ३३ प्रतिशत नपुगेर २२ प्रतिशत जति महिला पुगेको आँकडा हामीसँग छ । कतिपय ठाउँमा कोटाबाहेक पनि महिलाहरू प्रतिस्पर्धाबाट जितेर आएको उदाहरण छन् ।

नेपाली महिलाहरूको सशक्तीकरण, पहुँच अभिवृद्धि, जीवनस्तर सुधार, सम्मान र सुरक्षाका सवालमा सरकारको भूमिका कस्तो हुनुपर्छ ?
नेपालमा कानुनी रुपमा महिलाको अवस्था बलियो छ । तर कार्यान्वयनको अवस्थामा र उपस्थितिलाई हेर्ने हो भने त्यति राम्रो छैन । राज्यको प्रणालीभित्र जस्तै संसद्, स्थानीय तह र अन्य स्थानमा महिलाहरूको सहभागिता सुनिश्चित गरियो । त्यो हिसावले आर्थिक, सामाजिक र राजनीतिक सचेतना बढेको छ । तर त्यो सचेतनाले मात्र महिला सशक्तीकरण हुँदैन । महिलालाई आर्थिक क्षेत्रमा सहभागी गराउन राज्यको संयन्त्रले प्रभावकारी कदम चालेको छैन । कानुनतः महिलाहरू बलियो छन् । कार्यान्वयनको पक्ष फितलो छ । सामाजिक क्षेत्रहरूमा पनि महिलाको सम्मानमा कमी छ । भएका कानुन पनि कार्यान्वयन नहुँदा महिलाहरूले हिंसा भोग्नुपर्ने अवस्था यथावतै छ । जति परिश्रम गर्दा पनि महिलाहरूले समान पारिश्रमिक पाएको अवस्था छैन । कानुनले अंश र वंशको अधिकार दियो । आज पनि भूमिको अधिकारमा महिला जम्मा १० प्रतिशत मात्र स्वामित्व छ । त्यसकारण महिलाहरूको पक्षमा गर्नुपर्ने कामहरू अझै धेरै बाँकी रहेको देखिन्छ ।
महिलाको सवालमा आर्थिक र राजनीतिक सशक्तीकरण अबको मुद्दा हुनुपर्छ । यस्तै सामाजिक रूपान्तरण पनि अहिलेको मुद्दा हुनुपर्छ । अझै महिलामा विभेदको अवस्था छ । त्यसैले आर्थिक, राजनीतिक र सामाजिक रूपान्तरणलाई अगाडि बढाउनुपर्छ । अनिमात्र नेपालको संविधान र कानुनले दिएको अधिकार कार्यान्वयन हुनसक्छ ।
कांग्रेस नेतृत्वको सरकार पिछडिएको वर्ग, क्षेत्र र समुदायको पक्षमा कतिको उदार देखिन्छ ?
नेपाली कांग्रेसको नेतृत्वमा गठित सरकारकै पालमा महिला र पिछडिएका वर्ग समुदायका मागलाई सम्बोधन गर्ने काम भइरहेको छ । उदाहरणकै रूपमा लिनुपर्दा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकै कार्यकालमा महिला आयोग गठन भएको हो । समग्र महिलाहरूको विषयमा कानुन बनाउनलाई महिला आयोगमा म पनि संस्थामक सदस्यकै रूपमा काम गरेको हुँ । उहाँकै कार्यकालमा महिला, दलितलगायतका आयोग बने । अहिले त संवैधानिक रूपमै आयोगले मान्यता पाएका छन् । त्यसकारण नेपाली कांग्रेससले पछाडि परेका वर्ग र समुदायलाई सम्बोधन गर्ने क्रममा जसरी हिजो काम गरेको छ, त्यसैगरी आज पनि कांग्रेसको प्राथमिक क्षेत्रमा पिछडिएको वर्ग र समुदायहरू परिरहेका छन । पूर्णरूपमा कानुन कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा छ । त्योबाट कांग्रेस उम्कन सक्दैन ।
कांग्रेसको १४औं महाधिवेशनको मिति तोकिनु र सर्नु सामान्य जस्तै बनेको छ । पटक पटक तोकिएको मिति सर्ने अवस्थाको सिर्जना किन भएको हो ?
महाधिवेशनको सन्दर्भमा कुरा गर्दा, १४औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेको छ । अधिकांश स्थानीय तह र एक दर्जनभन्दा बढी जिल्लाको अधिवेशन भइसकेको छ । बाँकी अधिवेशनको पनि मिति प्रस्तावित भइसकेको छ । क्रियाशील सदस्यताको विषयमा कांग्रेस पारदर्शी रूपमा अघि बढेको छ । क्रियाशील सदस्यको नामावली वेबसाइटमार्फत नै सार्वजनिक गरेको छ । कतिपयलाई यही कुरा टाउको दुखाईको विषय बनेको छ । लोकतान्त्रिक विधि र पद्धतिबाट अघि बढ्दा पार्टी संगठनमा के बेफाइदा हुन्छ । हिजोका दिनमा दुई दिन अगाडि पार्टी कार्यालयमा नामावली टाँस गर्ने वा निर्वाचन अधिकारीहरूले दिने प्रचलन थियो । जसले अगाडि नै क्रियाशील सदस्य कसले पायो कसले पाएन थाहा पाउन गाह्रो हुन्थ्यो । तिहार र छठपछि अन्य बाँकी जिल्लाहरूमा पनि सँगसँगै निर्वाचन प्रक्रिया अगाडि बढाइने छ । तर आमरूपमा अहिले आएको अधिवेशन नै हुँदैन भन्ने कुराहरू गलत हो । छठपछि बाँकी सबै स्थानीय तहको निर्वाचन सक्काउने र त्यसपछि प्रदेश र जिल्लको अधिवेशन सकाएर महाधिवेशन मंसिर २४-२६ सम्पन्न गर्ने भन्ने तय भइसकेको छ । महाधिवेशन नुहुने भन्ने हल्ला अफवाह हुन् । यसमा कुनै सत्यता छैन ।
पटक पटक केन्द्रीय सदस्य भइसक्नुभएको छ । १४औं महाधिवेशनमा तपाईंको उम्मेदवारी कुन पदमा हुन्छ नि ?
१४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरिरहेकी छु । नेतृत्व तहले पनि सहमहान्त्रीका लागि तयारी गर्न भनिसकेको छ । पदाधिकारीमा मेरो दाबी किन पनि छ भने पार्टीमा महिलाहरूको उपस्थिति एक तिहाइ पुगेको छैन । संविधान र पार्टी विधानमा समेत उल्लेख भएबमोजिम महिलाको एक तिहाइ उपस्थिति गराउने मेरो लक्ष्य हो । पार्टीको पदाधिकारीमा समेत एक तिहाइ महिलाको उपस्थिति हुनुपर्छ । यसमा मेरो माग कायमै छ ।
तपाईंका एजेन्डा के छन् नि ?
म जतिबेला केन्द्रीय सदस्य जितेर आएँ । त्यसपछि निरन्तर रूपमा पार्टीको विभिन्न तहमा महिलाको सहभागिता बढाउँदै आएको छु । पहिलोपटक पार्टीभित्र निर्वाचित भएर आउँदा केन्द्रीय समितिमा दुईजना मात्र महिलाको उपस्थिति थियो । दुईबाट ६ जना बनायौं । त्यसपछि एक तिहाइ महिलाको सुनिश्चिततका लागि विधान समितिमा बसेर पटकपटक सशक्त आवाज उठाउँदै आएको छु । नेपाली कांग्रेसको जुन सिद्धान्त र आदर्श छ, यसलाई निरन्तरताका रूपमा गन्तव्यमा पु¥याउन नेपाली कांग्रेसले चाहेको र नेतृत्वले दिएको विचार र जिम्मेवारी छ, त्यसलाई निर्णाक तहमा पु¥याउने काममा निरन्तर लागिपरेकी छु । त्यसका लागि पनि मेरो उम्मेदवारी हो । अझ महिलाहरूलाई निर्णायक भूमिकामा सम्पूर्ण निकायमा कसरी पु¥याउन सकिन्छ भन्ने मेरो जीवनकै संघर्ष हो । त्यसका लागि नेपाली कांग्रेसको पदाधिकारी बन्दा यी मुद्दाहरूलाई निर्णयमा पु¥याउन सहज हुन्छ । नेतृत्वलाई सजिलो रूपमा आवाज सुनाउन र दबाब दिन सकिन्छ । त्यसकारण पनि मेरो सहमहामन्त्रीमा उम्मेदवारी हो ।
अहिले अर्ली इलेक्सनको कुराले राजनीतिक वृत्त तातिएको छ नि ?
चुनाव लोकतान्त्रिक शासन व्यवस्थाको सुन्दर पक्ष हो । लोकतन्त्रमा चुनावको प्रसंग आउनु स्वाभाविक पनि हो । म अर्ली इलेक्सनको पक्षमा छु । म मात्र होइन, नेपाली कांग्रेसका समर्थक, शुभेच्छुक सबै अर्ली इलेक्सनको पक्षमा छन् ।




