रिबन

अविश्वासको प्रस्ताव फेस नगरी मुख्यमन्त्री शाक्यको राजीनामा

काठमाडौँ ।बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन्। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै शाक्यले बैठकमै राजीनामा दिएकी हुन्। शाक्यले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

२ भदौमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको बैठकमा दलको नेताबाट राजीनामा दिएपछि बहुमत दलको आधारमा शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन्। २७ भदौमा १३ जना सांसदले नेकपा (एकीकृत समाजवाद) रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन्। उनले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रक्रियाअन्तर्गत मत विभाजन हुने तय भएपनि सम्बोधन लगतै राजीनामा दिएर विश्वाको मत फेस गर्नबाट पछि हटेकी हुन्।

प्रदेशसभामा हाल एमालेका ४३, माओवादी २३ र कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक सांसद छन् ।

गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति यसअघि भइसकेको छ । पाण्डेपछि कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सहमति बनेको हो ।

शाक्यको राजीनामालगतै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *