काठमाण्डाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डलर झार्नका लागि कर्णालीमा विकास नगरेको बताएका छन् । वीरेन्द्रनगरमा दोभान मल्टिमिडिया प्रालिले आयोजना गरेको ‘कर्णाली विकास, विविधता र पर्यटन’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको समग्र विकासमा सरकार योजनाका साथ अघि बढिरहेको बताए । उनले भने ‘कर्णाली सरकारले प्रदेशको समग्र विकासमा निरन्तर काम अगाडी बढाउँदै गएको छ । सरकारले प्रदेश अन्तरर्गत कर्णाली राजमार्ग लगायतका प्रदेश भित्रका प्रमुख पर्यटकीय क्षेत्रहरू जोड्ने सडक बाटोको विकासमा तत्काल स्तरोन्नती नगर्नु डलर झार्नको लागि हो ।’
मुख्यमन्त्री शाहीले थपे, ‘हामीले सडकको मर्मत नगर्नुको कारण एउटै छ । कुनै पर्यटक सरासर रारा पुग्नको लागि बाटोको निर्माण गरेपछि हाम्रो प्रदेशमा विदेशी डलर कम झर्छ । त्यसैले रारा जस्तै अन्य कर्णाली प्रदेशका प्रमुख पर्यटकीय स्थानहरूमा जानका लागि मोटरबाटो सहज भएपछि हामी कहाँ डलर झर्दैन् । त्यसैले हाम्रो पर्यटकीय क्षेत्रमा पुग्ने बाटो बिग्रिएपछि पर्यटकहरू जहाँ सडक भत्किएको छ । त्यहीँ बस्छन् त्यहीँ डलर खसाल्छन् ।’
मुख्यमन्त्री शाहीले सडक निमार्ण तथा मर्मत गरेपछि विदेशी डलर हाम्रो प्रदेशमा कम हुने र सडकबाटो भत्किए वा बिग्रिएमा मात्रै डलर झरेपछि प्रदेशको थप आय स्रोत यसैबाट बढ्ने उनको भनाइ छ ।




