बुटबल । रुपन्देहीका राजनीतिक दलहरुको सर्वदलीय बैठकले मोतिपुरमा भएको झडपका क्रममा मृत्यु भएका ४ जनाका परिवारलाई उचित क्षतिपुर्तिका लागि पहल गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको बैठकले मोतिपुरमा भएको झडपका क्रममा घाइतेहरुको उपचारका लागि स्थानीय प्रशासन, प्रदेश सरकार र केन्द्र सरकारलाई समेत आग्रह गर्ने निर्णय भएको हो ।

बैठकले औद्योगिक क्षेत्र निर्माण भनिएको स्थानको जग्गामा लालपूर्जा समेत भएका स्थानीय लामो समयदेखि जग्गाको उपभोग गरेको देखिएकाले त्यसको व्यवस्थापनका लागि समेत सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकले मोतिपुर क्षेत्रमा अतिक्रमण गरेका र प्रदर्शनमा सहभागीहरुलाई समेत संयमता अपनाउन आग्रह गर्ने निर्णय समेत भएको छ । त्यसबाहेक अतिक्रमण रोक्नका लागि परिचालन गरिएका सुरक्षाकर्मीलाई सबैले सहयोग गर्ने निर्णय समेत भएको छ ।
बैठकले मृतक ४ जनाको परिवारलाई उचित क्षतिपुर्ति दिन र घटनाका बारेमा छानविन गर्न र घटना दोहोरिन नदिन अनुरोध गर्ने निर्णय समेत गरेको छ ।




