काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन जति नजिकिँदैछ, त्यत्ति नै नेतृत्वका बारेमा जोडघटाउको चर्चाले गाउँ सहर ताँतेको छ । कांग्रेसको नेतृत्व लिन झन्डै आधा दर्जन नेता कसि्सएका छन् ।
विरासतका साथै आफ्नो बलबुताले राजनीतिक उचाइ लिएका दुई पात्र कांग्रेस हाक्न आफूमात्र योग्य भएको दावी पेश गरेका कारण अहिले विशेष चर्चामा छन् । चर्चा चलाइएको नाम हो, शेखर कोइराला र विमलेन्द्र निधि । रमाइलो त के छ भने कांग्रेस हाँक्न तम्सेका यी दुवै नेता संसदीय निर्वाचनमा समेत पराजित हुन् ।
मोरङ र धनुषा यस्ता जिल्ला हुन, जहाँका जनताको पुस्तौनी साइनो नेपाली कांग्रेससँग जोडिएको हो । त्यहाँका जनताको रगत पसिनाले पार्टी सिन्चित छ । कांग्रेसको बिउँलाई यिनै जिल्लाबाट मलजल गरेर हुर्काएको इतिहासले असीको दशकमा हिड्दैछ । यिनै जिल्लामा कांग्रेसको पक्कड जमाएको क्षेत्रबाट निधि र कोइराला संसदीय निर्वाचनमा उम्मेदवार बनेका थिए । मोरङ ६ बाट शेखर उम्मेदवार बनेका थिए भने धनुषा ४ बाट विमलेन्द्रलाई उम्मेदवार बनाइएको थियो । त्यहाँका कांग्रेस मतदाताका लागि यी दुवै उम्मेदवार ठीक भएनन् । अर्थात् उनीहरुलाई पत्याएनन्, दुवै निर्वाचनमा पराजित भए ।
आफ्नै निर्वाचन क्षेत्रबाट अस्वीकृत नेताले नेपाली कांग्रेस पार्टी हाँक्छन् भनेर कसरी विश्वस्त हुन सकिन्छ ? जनताबाट अस्वीकृत व्यक्तिले पार्टी नेतृत्व गर्छु भन्नु नै राजनीतिको भद्दा मजाक गर्नु जस्तै हो । तर नेपाली कांग्रेस पार्टीको आदर्श नै लोकतन्त्र हो । लोकतन्त्रमा नियम र कानुनले बर्जित गरेबाहेक सबैले अधिकार उपभोग गर्न पाउँछन् ।
वास्तवमा संसदीय क्षेत्रबाटै अस्वीकृत भएपछि कोइराला र निधिले आफ्नो क्षमता मापन गर्नुपर्ने थियो । ‘म कति पानीमा रहेछु’ भन्ने कुरा बुझ्नुपथ्र्यो । कुनै विवाद छैन, उनीहरु सम्भावना बोकेका नेता हुन्, तर विगतलाई विश्लेषण गरेर आफूलाई सच्चाउनु पथ्र्यो । तर उनीहरुले त्यसो गरेनन्, पार्टी नै हाँक्ने सपना देखे । सपना देख्न पाइन्छ , पार्टी सभापतिको उम्मेदवार बन्न पनि पाइन्छ । तर नेताको क्षमता चिन्ने महाधिवेशन प्रतिनिधि आउँछन् भन्ने कुरा उनीहरुले बिर्सन हुँदैन थियो ।




