चैनपुर । संखुवासभा कांग्रेस जिल्ला नेतृत्व अन्ततः लोकतान्त्रिक विधिबाटै चयन हुने भएको छ । हिजोबाट सुरु भएको जिल्ला अधिवेशन आज अबेरसम्म नेतृत्वका लागि सहमतिको प्रयास भएको थियो । सभापति पदका लागि दुईजनाले उम्मेदवारी मनोनय गरेपछि नेतृत्व छनोट निर्वाचनबाट हुने भएको हो । शनिबार साँझ साढे ६ बजेबाट सुरु भएको मतदानमा जिल्ला सभापतिका लागि पूर्वखानेपानी राज्यमन्त्री दीपक खड्का र राईबहादुर राई चुनावी मैदानमा छन् ।

यसैगरी उपसभापतिका लागि ३ जनाले मनोनय दर्ता गराएका छन् । रामकुमार जिमी, अनन्त गौली र शेरबहादुर बनले उपसभापतिका लागि मनोनय दर्ता गराएका हुन् । यसैगरी सचिव पदका लागि पनि तीनैजनाले उम्मेदवारी दर्ता गराएका छन् । कुमारबाबु अधिकारी, टकमान घले र छत्रमणि काफ्लेले सचिव पदमा उम्मेदवारी मनोनय गराएका हुन् । सहसचिवमा भने ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेस निर्वाचन समितिले हिमाली जिल्लामा असोज १८ गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकेको छ । १४ सय प्रतिनिधि रहेका संखुवासभामा पनि हिजोबाट जिल्ला अधिवेशन सुरु भएको निर्वाचत समिति सदस्य दिनेश पौडेलले जानकारी दिए ।
सभापतिलगायतको पदमा मतदानबाट निर्णय लिइने भए पनि महिला महाधिवेशन प्रतिनिधि भने निविरोध भएका छन् । महिला प्रतिनिधिबाट बीमा पौडेल, उषा कार्की, चित्रलेखा अधिकारी, नीरु तामाङ बस्नेत, सुमित्रा श्रेष्ठ, अञ्जना लिमथेप, मीना पोखरेल, सीता अधिकारी तथा अपांगता कोटाबाट पदमबहादुर अधिकारी निर्विरोध भएका छन् ।









