कला/साहित्य

प्रिय बुल डोजर

कतै भौडी पुर्दै पहाड उक्लिन्छ
चट्टान लुछ्तै भीर खोस्रिन्छ
ढलाउँदै ढिस्को भुइँचालोको कम्पन भएर
माटोको फैलावटसँग मुटुको धड्कन जोडिन्छ
रक्तवाही धमनीमार्फत् केन्द्रदेखि देहातसम्म
खुलाउँछ आवागमन गाउँबेंसी दूरस्थ दुर्गम
फिँजाउँछ नयाँ रूपान्तरण
देख्तैखेरिको कायाकल्पधारी बुल्डोजर ।

थुतुनो उचालेर, पस्रिएर, घस्रिएर
जसरी पनि पुरानोको अस्तित्व नामेट पार्छ ऊ
सजाउँछ तामझाम बस्ती हुँदो
बढाउँदै सफलताको आयतन
उब्जाउँछ अत्यास सच्याउँछ स्खलन
अक्कर कोट्याउँदै डो–याउँछ डोरेटो
सडक बिछ्याउँदै सोझ्याउँछ राजमार्ग
बोकेर नयाँ युग सहर डुल्छ गाउँमा
उत्सवमय कोसेलीपात भित्रिन्छ
तडकभडक बनेर सडकसँगै
बेहद कायापलट काखी च्यापेर उत्रिन्छ बुल्डोजर ।


हुँदा खाने कहाँँ पुग्न तागतले भ्याउँदैन उसको
हर्जानाविहीनहरूको थातवास तछारिरहँदा
सुस्ताउँछ निस्ताउँछ भनावैरीमा
झोक्राउँदैन हतारिन्छ अभिसारिकाझैंँ
हुनेखानेले दसैंको खसी घिसारेजस्तै
हरियो घाँस देखाएझैंँ चारखुट्टेलाई
खुुरुखुरु घिसारिन्छ कसैबाट संयन्त्र
अगुवाइको सक्तैन आदेश नकार्न ऊ
रफ्तारमा कसैको घरदैलोसम्म
बेगिन्छ एकनासले र थामिन्छ टक्रक्क
बलशालीको छहारीमा लागेर ओत
निर्धक्कसित सुँढ उचालेर
दुवै हातले सल्युट ठोक्छ
मान्यजनको शरणागतमा
निर्ढुक्कसँग वास बस्छ
गन्तब्यको पूर्वार्धमा
गुटुमुटु परेर विश्राम लिन्छ
भाग्य विधाता देशभक्त प्रिय बुल्डोजर

मादी न.पा. ६, सङ्खुवासभा
हालः मध्यपुर ठिमी न.पा. १, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *