राजनीति

प्रदेश एक र बागमतिमा आफ्नो पार्टी नेतृत्वमा सरकार बन्ने अध्यक्ष नेपालको दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् । आज पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश १ र बागमती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको बताएका हुन् ।

उनले प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरुलाई धन्यवादसमेत व्यक्त गरे । आफ्नो पार्टी कसैको पार्टीभन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन उनले आग्रह गरे । उनले भने, ‘एक र तीन नम्बर प्रदेश (बागमती) मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहान्छु ।’

अध्यक्ष नेपालले एमालेबाट आफुहरु चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाइप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुप-यो भन्ने प्रश्न समेत गरे ।

पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनु परेको भन्ने पनि उनले प्रश्न गरे । उनले भने ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरु गए, हाइसञ्चो भयो । यो साँच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुप-यो हाइसञ्चो भएको मान्छेले ? कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसदमा ?’

उनले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भए पनि एमाले सांसदहरु अरुको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसदमा उफ्रिएको टिप्पणी समेत गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *