काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधान विरोधीहरुको षडयन्त्रलाई परास्त गर्नका लागि माओवादी शक्तिहरु एक हुनुपर्ने बताएका छन ।
जसपा र एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका एक दर्जन नेता तथा कार्यकर्ताको अध्यक्ष निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले भने,‘सबै विगतका माओवादी आन्दोलनमा रहेका साथीहरु एउटै केन्द्रमा आउने वातावरण बन्दै गएको छ । अहिले नआउने पनि अलिपछि आउनुहुन्छ ।
उनले माओवादी आन्दोलन र यसले उठाएका एजेण्डाहरुलाई राष्ट्रिय रुपमा फेरि नयाँ उचाईंबाट स्थापित गर्ने र यो आन्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने रुपमा विकास गर्न सवै मिल्नुको विकल्प नभएको बताए ।
उनले संविधान र आन्दोलनको उपलब्धि रक्षाको लागि माओवादी नमिलि सुख नभएको बताएका छन। उनले भनेका छन,‘समाजवादी क्रान्तिलाई मार्क्सवादी तरिकाले अगाडि बढाउने पार्टीको रुपमा यो पार्टी र नेतृत्वका लागि अन्तिम अवसर पनि हुनसक्छ । एक चोटी राष्ट्रलाई झक्झक्याएर अगाडि लैजाने अवसर पनि हुनसक्छ । सकिएन भने नराम्रो स्थितिमा आन्दोलन जाने खतरा पनि छ । त्यसकारण सबै क्रान्तिकारीहरुले अब ढिलो नगरी एकतावद्ध हुने, केन्द्रित हुने र आत्मसमिक्षा सहित जनताको घरघरमा पुग्नुपर्ने भएको छ ।




