दम्पती भर्दछन् प्राण ज्ञानगुन भरीकन
पारी सक्षम छोरी ती दिन्छन् दान रमीकन ।१।
खम्बा हुन् घरका बाबु आमाको चल्छ शासन
अनुशासन मर्यादा नीति न्याय विमोचन ।२।
पुगी दुर्गम ल्याएर भित्र्याउँछ भँडार को ?
जुनी जोखिम मोलेर सजाउँछ सँघार को ? ।३।
दुग्धपान गराएको जोड्छ सामग्री को भन ?
वीर्यदान गरएर दिन्छ को भन जीवन ? ।४।
हली भै गोरु जोतेर बलको काम गर्छ को ?
उद्यमी पसिना दाना धर्तीमाथि पछार्छ को ? ।५।
चिरैचिरा छ कुर्कुच्चा ठेला ठेली छ हातमा
काँधमा पीठमा उक्ली हुर्कन्छन् शिशु काखमा ।६।
पिताजी पहरेदार माताजी अभिभावक
रखवार दुई रक्षा पुञ्ज हुन् परिवारका ।७।
छत्रछायाँ छहारी हुन् पिता पौरख प्रेरणा
आशीर्वचन देऊन् ती दुर्गति हुन्न जीवन ।८।
कुसे औंसी भनी पर्खी बुबालाई नर्बिर्स रे !
नित्यानन्द हऊन् पूज्य सौभाग्य सुख मिल्छ रे ! ।९।
गोकर्णेश्वरमा छैनन् पिण्डपानी लिने बुबा
खुसाउन् नमरी बाँच्तै श्रद्वा सेवित हुन् सदा ।१०।
बिर्सिन्छ जसले जन्म स्वयं बिसर््ेछु हुन्न र ?
स्रष्टा सृष्टि धरा बिर्से इहलौकिक रुन्न र ? ।११।
* * *
मादी न.पा.– ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर




