काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा टिम बनाउने र समीकरण भत्काउने खेलले तीब्रता पाएको छ । यस्तै एउटा कोपभाजनमा वरिष्ठ नेता रामचन्द्र पौडेल परेका छन् । पार्टी संस्थापन इतरको नेतृत्व गरिरहेका वरिष्ठ नेता पौडेल कुरा नमिल्दा समूहबाटै एक्लो हुने भएका छन् । १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई टक्कर दिन आफू मात्र सक्षम भएको रट नछोडेपछि उनी समूहमा एक्लो हुन पुगेका हुन् ।
कोइरालाहरु पौडेललाई सभापतिको उम्मेदवार मान्न तयार छैनन् । कोइरालाहरुले शंशाकलाई साझा उम्मेदवारका रुपमा अघि सारिसकेका छन् । यता, गणेशमान पुत्र प्रकाशमान सिंह आफै उम्मेदवार बन्ने तयारीमा छन् । सिंह पनि कोइरालाहरुलाई सभापतिको उम्मेदवार मान्न तयार छैनन् । यी दुवै समूहको द्वन्द्वको फाइदा उठाएर पौडेल पुनः सभापतिमा फाइट गर्ने योजनामा थिए । तर दुवै समूहले आफ्नै हिसाबले तयारी थालिसकेका छन्, वरिष्ठ नेता पौडेल एक्ला भए ।
कोइराला र सिंहले सभापति पदका लागि आफ्नो तयारी थालिरहेका बेला पौडेल भने क्रियाशील विवादमा थप किचलो निकालेर महाधिवेशन पर धकेल्ने योजनामा लागेका छन् । पार्टीको आन्तरिक विवाद सुल्झाउनेभन्दा बल्झाउँदा आफूलाई राजनीतिक रुपमा फाइदा पुग्ने निष्कर्ष पौडेलले निकालेका छन् ।
सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको पौडेल समूहले गगन थापालाई साथमै राखेर करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो।
सबैले आफ्नो अडान नछोडेपछि साझा उम्मेदवार चयन गर्ने विषयमा पौडेल समूहका नेताहरूबीच त्यसयता संवाद नै हुनसकेको छैन। आफ्नै समूहभित्र सभापतिका आकांक्षी धेरै भएकाले साझा उम्मेदवार घोषणा गर्ने तयारी अन्त्य भएको छ ।
वडा अविधेशनअघि नै साझा उम्मेदवार घोषणा गरेर सकारात्मक सन्देश दिने पौडेल समूहले प्रयास गरेको थियो । भदौ १८ देखि कांग्रेसको वडा अविधेशन सुरु भएको छ । तर साझा उम्मेदवार एउटा होइन दुईवटा हुने देखिएको छ ।
यही परिस्थिति कायम रहिरह्यो भने देउवाले थप एक कार्यकालका लागि सभापति बन्ने चाहना राखेर तयारी गरिरहेका छन् । उनलाई चुनाव जित्न सहज हुने अनुमान गरिएको छ ।




