राजनीति

एमसीसी अस्वीकार गरे के हुन्छ ?

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणपछि अमेरिका फर्किसकेकी छन् । फतिमाको अमेरिका फिर्तासँगै एमसीसी नेपालले अस्वीकार गरे के होला भन्ने बहसले आर्थिक कूटनीतिमा बहस सुरु भएको छ ।

दोहोरा अर्थ लगाइ राख्नु पर्दैन, सबैले बुझ्ने भाषामा उपाध्यक्ष फतिमाले दुई कुरा भनेकी छन् । परियोजना स्वीकार गर्ने वा नगर्ने नेपालको स्पष्ट जवाफ चाहियो । यदि नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग प्रभावित हुनेछ ।

नेपालमा एमसिसी आयोजनाबारे कम्युनिष्टहरुले सडक र सदनमा रमाइलो दिखाइरहेका बेला फतिमा नेपाल आएकी हुन् । सबै राजनीतिक दलसँग परामर्श गरेर उनी फर्केकी छन् । परियोजनाको नीति र भविष्यबारे सर्वसाधारणले बुझ्ने भाषामा उनले बोलेकी छन् । यही क्रममा एमसिसी आयोजना अगाडि बढाउने जिम्मेवारी लिएको संस्था एमसीएका पदाधिकारीसँगको छलफलमा फतिमाले भनिन्– ‘देश विकासमा पनि कति धेरै राजनीति भएको यहाँ । नेपाली नेताहरूले अमेरिकालाई खेलाचीका रूपमा लिएको मैले बुझे । यसलाई गम्भीर रुपमा नलिने हो भने वैदेशिक सहयोगमा यसले गम्भीर संकट पार्नेछ ।’

फतिमाले एमसीसी अनुदान अस्वीकार गरे नेपालले आगामी दिनमा वैदेशिक ऋण र अनुदान प्राप्तिमा समस्या भोग्नुपर्ने स्पष्ट पारेकी छन् । ‘नेपालले अहिलेसम्म कसरी र कुन स्रोतबाट वैदेशिक सहयोग लिएको छ’, प्रश्न गर्दै सुमारले भनिन्, ‘कुल वैदेशिक सहयोगको ६० प्रतिशतभन्दा धेरै हिस्सामा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्न सक्ने हैसियत अमेरिकासँग छ ।’

उपाध्यक्ष फतिमाले विश्व बैंक र अमेरिकाको सम्बन्ध के हो, एसियाली विकास बैंकलगायत अन्य दातृ निकाय र संस्थामा अमेरिकाको पहुँच कस्तो छ भन्दै अमेरिकाले चाहे नेपालले लिँदै आएका अधिकांश सहयोगमा तत्कालै प्रभाव पार्न सक्ने कुरा उनले स्पष्ट पारेकी छन् ।

यो अवस्थामा एमसीसीविरुद्ध कम्युनिष्ट र राजावादी सडकमा उत्रिनु भनेको देशको भौतिक पूर्वाधार विकासमा अवरोध सिर्जना गर्नु हो भन्ने कुरा सबैले बुझेका छन् । यद्यपि दलहरुले आफ्नो राजनीति सोझ्याउन प्रयोग गरे भने त्यो दुर्भाग्य सावित हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *