काठमाडौं । विमलेन्द्र निधि कांग्रेस उपसभापति हुन् । कांग्रेस पदाधिकारी भए पनि उनले पार्टीमा देखिएको समस्या समाधानभन्दा गिजोल्नतिर शक्ति खर्च गरिरहेको पाइएको छ ।
पछिल्लो समय निधिले पार्टी सभापति शेरबहादुर देउवासँग संवाद गर्नसमेत छाडेका छन् । लामो समय एउटै समूहमा रहेर राजनीति गर्दै आएका देउवा र निधिबीच आगामी १४औं महाधिवेशनमा नेतृत्वको विषयलाई लिएर तिक्तता उत्कर्षमा पुगेको छ ।
निधिले सम्पर्क कार्यालय खोलेर महाधिवेशन केन्द्रित तयारी थालेका छन् । आफूलाई सभापतिमा सहयोग नगरेको भन्दै निधिले सभापति देउवाको गृहजिल्ला डडेल्धुराको वडा तहको अधिवेशनमा खेलेको देखिएको छ । सोही कारण उनले सभापति देउवालाई पत्र लेख्दै डडेल्धुरामा वडा तह अधिवेशन रोक्न आग्रह गरेका थिए ।
जबकि उनी आफैं उपसभापति हुन् । तर, निधिले डडेल्धुराका कांग्रेस सभापति कर्ण मल्ललाई साथ दिएर विवाद बल्झाएको बुझिएको छ ।
देउवालाई सजिलोभन्दा पनि कसरी अप्ठेरा बनाउने भन्नेमा निधिको ध्यान केन्द्रित भएको छ । उनले देउवाको गृहजिल्ला डडेल्धुरामा वडा तहको अधिवेशन विवादमा कर्णबहादुर मल्ललाई उचालेर समस्या झन् झन् पेचिलो बनाएको बुढानिलकण्ठको आशंका छ ।




