काठमाडौं । ‘आफू देशको कार्यकारी हुँदा सब ठीक, अरु भए केही न केही’ भन्ने विकृत मानसिकताको स्कुलिङबाट हुर्केको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कुकुरको पुच्छर एउटै रहेछ भन्दा अतियुक्ति हुँदैन होला । किन भने कुकुरको पुच्छर १२ बर्ष ढुंग्रोमा राखे पनि सिधा हुँदैन, बाङ्गोको बाङ्गै रहन्छ ।
एमाले २०५२ सालदेखि सडकको रेलिङ भाँच्न सुरु गरेको हो । फरक यति हो अहिले एमालेले संसदमा माइक र कुर्सी भाँचिरहेको छ । त्यो बेला बाहुबलबाट सत्तामा पुगिन्छ भन्ने मानसिकताले काम गरेको थियो, अहिले सत्ता छोड्नु परेको तीतो सदन अवरुद्ध गरेर पोखिरहेको छ ।
बजेट प्रतिस्थापन विधेयकका बेला एमालेले देखाएको हर्कत सामान्य थिएन । र, नयाँ पनि होइन । सर्वसत्तावादी चिन्तन बोकेको एमाले संसदमा यसरी प्रस्तुत भयो कि भोकाएको बाँदर खानेकुरा देखेपछि ज्यान छोडेर फाल हान्दैछ । जनताको नाम दुहाइ दिएर विध्वंश मच्चाउने शैली एमालेको मात्र हो ।
बहस र तर्कले जित्नुपर्ने संसदमा बोल्ने माइक भाँचेर सभामुखको टाउकोमा हिर्काउन मर्यादा पालकको काँधमा चढेकी एमाले सांसद रेखा झाको हर्कतले के देखाउँछ भने– एमालेमा राजनीतिक संस्कार र चेतना शुन्य रहेछ ।
संसदमा एमालेको विगतको गतिविधि हेर्ने हो भने झ्न टिठ लाग्दो नै छ । ५८ दिनसम्म संसद अवरुद्ध गरेर कीर्तिमान कायम गरेर इतिहासमा नाम लेखाएको दुई दशक पुगिसक्यो । यस अवधिमा बागमतिमा धेरै पानी बगिसक्यो, राजनीति परिवर्तनहरु भए । तर, एमालेमा राजनीतिक संस्कार थोरै पनि पलाएको रहेनछ भन्ने प्रमाण शुक्रबारको संसदमा देखिएको परिदृश्यले पुष्टि गरेको छ ।
संसद कुस्ती खेल्ने ठाउँ होइन । सांसदले प्रस्तुत गरेको संसदको मान, मर्यादा, संस्कार र संस्कृतिको अभिलेख रहन्छ । संसदको गरिमालाई इज्जत दिनु सांसदको कर्तव्य हो । ती अभिलेख पल्टाउने हो भने एमालेले पाठ सिक्नुपर्ने संसदको गरिमा बचाउने पाठ सिक्नुपर्ने थियो । तर त्यो पाठ अहिलेसम्म एमालेले सिकेको रहेनछ भन्ने तथ्य शुक्रबारको घटनाले पुष्टि गरेको छ । भन्नैपर्छ, यो नेपाल र नेपालीकै दुर्भाग्य हो ।




