काठमाडौं । जबजब नेपालको राजनीति तरल बन्छ, तबतब भारतबाट काठमाडौंमा नेताहरूको लर्को लाग्छ । यतिबेला नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का कारण राजनीति तरल बनेको छ । जुनसुकै बेला सत्तारुढ गठबन्धन टुट्ने चर्चा चलेको छ ।
एमसिसी उपाध्यक्ष फतिमा सुमार पनि चारदिने भ्रमणका क्रममा काठमाडौंमै छिन् । उनले राजनीति भेटघाटलाई तीव्र बनाएकी छन् । यही बेला भारतीय जनता पार्टीका शक्तिशाली नेता काठमाडौंमा छन् । बीजेपी पूर्वमहासचिव राम माधव रविश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पराण्डे बिहीबार काठमाडौं आइपुगेका छन्। राम माधवको भ्रमण प्रयोजन खुलेको छैन, तर पराण्डे विश्व हिन्दू परिषद् नेपालले आयोजना गरेका बैठकमा सहभागी हुन आएको बुझिएको छ ।
एमसिसीका उपाध्यक्ष फतिमा जेड सुमार आएकै दिन बीजेपी पूर्वमहासचिवसमेत रहेका राम माधव आइपुगेका हुन् ।माधव आरएसएसमा अमेरिकानिकट मानिन्छन्। बीजेपी विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले आएको तीन साता नबित्दै आरएसएसका प्रभावशाली नेता राम माधव किन आए भन्ने विषयले अहिले राजनीति तरंगित भएको छ ।
बीजेपी नेपालमा एमाले निकट मानिन्छ । त्यसमा पनि केपी ओलीसँग उनीहरूको सम्बन्ध निकै सुमधुर छ । त्यही भएर पनि नेपालमा कुनै राजनीति दुर्घटना त हुने होइन भन्ने अनुमान गर्न थालिएको छ ।




