राजनीति

ओलीको निष्कर्षः सत्तामा रहँदा एमसीसी ठीक, बाहिरिएपछि राष्ट्रघाती

‘माछा देख्दा दुलाभित्र हात, सर्प देख्दा दुलो बाहिर हात’ नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माको यो राजनीतिक शैली हो । यो शैलीबाट नेपालको राजनीति जानकार छ । पटक पटक उनले देखाएको व्यवहारले यो उखान केपी ओलीको शैली हो भन्ने पुष्टि गरिसकेको छ । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहसका बेला कानुन व्यवसायीले ओलीको यो राजनीतिक शैलीबारे पनि चर्चा गरेका थिए ।

पछिल्लो पटक उनको यो ‘उखाने शैली’ एमसीसी प्रकरणमा ठ्याक्कै मिलेको छ । आफू सत्तामा हुँदा एमसीसी पास गर्नुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए जसको रेकर्ड अहिले सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती पाइन्छ । त्यसबेलाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो मुद्दामा सहयोग गरिरहेको थियो । यद्यपि आफ्नै सहयात्री र पार्टीबाट असहयोग भएर हो वा अन्य कारणले एमसीसी विधेयक ओलीले सदनमा प्रस्तुत गर्न सकेनन् ।

संसदमै एमाले सांसद भीम रावलले सरकारले जस्केलाबाट एमसीसी विधेयक ल्याउन लागेको भन्दै विरोध गरेका थिए । सांसद रावललाई तत्कालीन प्रधानमन्त्रीले ओलीले एमसीसी विधेयक जस्केलाबाट होइन, ढोकाबाटै छिरछ भनेर जवाफ दिएको रेकर्ड संसदमा सुरक्षित छ । त्यसबाहेक पनि ओलीले एमसीसीको पक्षमा अनेकौं अभिव्यक्ति दिएका थिए । जुन अभिव्यक्ति यतिबेला सामाजिक सञ्जाल भाइरल बनेको छ ।

अहिले एमसीसीको धुरनधर विरोधी कोही छ भने त्यो केपी ओली हुन् । पहिलेदेखि नै एमसीसीको विरोध गर्दै आएका भीम रावलभन्दा पनि चर्को विरोधीको रुपमा ओली प्रस्तुत भएका छन् । सत्ताबाट बाहिरएपछि केपी ओलीले एमसीसीलाई राष्ट्रघातीका रुपमा व्याख्या गरेका छन् ।

यद्यपि उनलाई थाहा छ, एमसीसी ल्याउन सकियो भने राष्ट्रलाई बेफाइदा छैन, सबै फाइदै फाइदा मात्र छ । एमसीसी परियोजना नेपालमा ल्याउन सकियो भने ३ हजार मेगावटसम्म विद्युत बहन हुने ट्रान्समिसन लाइन निर्माण र सडकको पूर्वाधार विकास हुन्छ । पाँच वर्षसम्ममा निर्माण सकिने यो परियोजनाले हजारौंलाई रोजगारीसमेत दिनेछ । अब उत्पादन हुने विद्युत् खपत र निर्यात नयाँ ट्रान्समिसन लाइनबाट मात्र सम्भव छ भन्ने कुरासमेत ओलीलाई राम्रोसँग थाहा छ ।

उनलाई यो पनि थाहा छ, एमसीसीका विरोध गर्नेहरु चिनियाँ दूतावासबाट परिचालित हुन् । खासमा यो परियोजना नेपालको पक्षमा हुँदाहुँदै पनि उत्तर र दक्षिणका छिमेकी मुलुकहरुको शित युद्धको माध्यम मात्र बनेको हो, यसमा कम्युनिष्ट नेताहरु प्रयोगमा आएका हुन् भन्ने कुरा पनि केपी ओलीलाई राम्रोसँग ज्ञान भएको विषय हो ।

‘माछा देख्दा दुलाभित्र हात, सर्प देख्दा दुलो बाहिर हात’ राजनीतिक शैली भएकाले केपी ओली यतिबेला एमसीसीको खरो विरोधीका रुपमा प्रस्तुत भएका हुन् भन्दा अतियुक्ति हुँदैन । सत्ता छाड्नु परेको उनको तीतो मुखबाट हटिसकेको छैन । देशको हित र जनताको समस्या भाँडमा जाओस तर, एमसीसीलाई माध्यम बनाएर अर्को पटक सत्तामा पुग्न सकिन्छ ओलीको मानसिकताले काम गरेको हुनुपर्छ । तर, उनको यो प्रयास सफल हुने देखिँदैन, किनभने व्यक्तिगत स्वार्थप्रेरित राजनीतिको भविष्य हुँदैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *