अन्यौल र आशंकाकै बीचमा नेपाली कांग्रेसको चौधौं महाधिवेशन प्रारम्भ भएको छ । आधाउदि जिल्लामा वडा तहको अधिवेशन लगभग समाप्त हुनेक्रममा रहेको समाचार आएको अवस्था र केही जिल्लाको सक्रिय सदस्यताको विवाद कायम नै रहँदा महाधिवेशनको सुनिश्चितामाथि प्रश्न चिह्न लागेको नै छ । तर पनि समस्याको उचित समाधान खोजेर महाधिवेशन सम्पन्न गर्नुको अर्को विकल्प नेपाली कांग्रेससँग छैन । नेतृत्व तहमा देखिनुपर्ने गम्भीरता अनुभूति गर्न नपाए पनि तल्लो तहका कार्यकर्ताहरु अधिवेशन सम्पन्न गर्नेतर्फ इमान्दार भएर प्रस्तुत भएको देखिन्छ । अधिवेशनहरु कर्मकाण्डी र औपचारिक मात्र भए पनि यसले पार्टीपंक्तिलाई चलयमान बनाएको छ । साथसाथै नेतृत्व विकासको ढोका खोलिदिएको छ । एकाध व्यक्तिहरु, असल, इमान्दार र निष्ठावान आए भने पनि त्यसले छलफल र बहसलाई सतहमा ल्याउने आशा राख्न सकिन्छ । नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्वाह गर्नुपर्ने नेतृत्वदायी भूमिकामा कमी भए पनि सम्भावनालाई जीवित राख्न महत्वपूर्ण योगदान महाधिवेशनको प्रक्रियाले पु¥याउने छ भन्ने विश्वास राख्न सकिन्छ ।
वडा तहमा देखिएको सहभागिता र उत्साह सकरात्मक छ । त्यो सहभागिता र उत्साहले निरन्तरता प्राप्त गरेमा परिणाम राम्रै आउन सक्छ । तर त्यो सहभागिता र उत्साह खास व्यक्तिको स्वार्थ पूरा गर्नको निम्ति मात्र भयो भने त्यसले थप निरासा भित्र्याउन पनि सक्छ । तरदेखि माथिसम्म नेतृत्वको आकांक्षा राख्ने व्यक्तिहरु व्यक्तिगत स्वार्थपूर्तिको संकूचित सोच, चिन्तन र दायराबाट माथि उठेको खण्डमा राजनीतिक सुदृढिकरण र सुधार असम्भव छैन । अधिकांश मानिसको चाहना योग्य र सक्षम नेतृत्वको छनोट नै देखिन्छ । प्रभाव पार्ने तत्वहरु धेरै भए पनि इमान्दार मानिसले आफ्नो जिम्मेवारी बोध गरी उचित निर्णय लिएमा चाहेको व्यक्ति नेतृत्वमा आउन सक्छ र ल्याउने उपयुक्त मौका अधिवेशन नै हो । त्यो प्रक्रियालाई स्वीकार गरी राजनीतिक सुदृढिकरणको अभियान अगाडि बढाउने समय पनि यही हो । संधैं गुनासो र आलोचना गर्ने व्यक्तिहरुले सानो स्वार्थ, गुट उपगुट तथा ‘हाम्रो’ भन्ने अवधारणा त्यागेर ‘राम्रो’ व्यक्तिको पक्षमा आवाज उठाउँदा त्यसले नेतृत्व छनोटमा बल पु¥याउने नै छ । त्यसतर्फ सबै प्रतिनिधिहरुको ध्यानाकर्षण गराउन आम लोकतान्त्रिवादीहरुले यो समयको भरपूर प्रयोग गर्नु राम्रो हुनेछ ।
आफ्नो दायित्व र जिम्मेवारी समयमा पूरा गर्न नसकेमा पटक पटक आंशिक परिक्षा दिएर उक्तिर्ण हुने आश राख्ने सुविधा सरकार तथा दलहरुलाई यो शासन व्यवस्थामा प्राप्त हुँदैन । जनअपेक्षा पूरा गर्दै थप आशा र विश्वास जगाउने दृष्टिकोण निर्माणमा सरकार र राजनीतिक दलहरु अग्रसर हुन सक्नुपर्दछ ।
कांग्रेस नेतृत्वमा बनेको सरकारले पूर्णता प्राप्त गर्न नसक्नुमा गठबन्धनका दलहरुको पनि अहं भूमिका रहेको छ । तर त्यसको दोष प्रधानमन्त्रीलाई बढी जानेछ । शक्ति सन्तुलनमा प्रभाव पार्ने ठानेर होला पार्टी भित्रको समीकरणलाई यथावत राख्न पनि मन्त्रिपरिषद् विस्तार नगरिएको हुनसक्छ । यो भए पनि अनिर्णयको बन्दी हुनु राम्रो हुँदै होइन । यसले निर्णय र नेतृत्व क्षमतामाथि प्रश्नचिह्न लगाउँछ । महाधिवेशनको मुखमा विशेष परिस्थिति उत्पन्न भएर सरकार बनाउनुपर्ने बाध्यात्मक अवस्था आएको हो । दुई तिहाई नजिकको सरकार असफल भएको विगत विस्मृतिमा गएर वर्तमानसँग असन्तुष्टि बढ्न सक्छ । मानिसको चाहना र अपेक्षा पनि फरक छ । संसद अधिवेशन अन्त्य गरेर अध्यायदेश ल्याउने पार्टी टुक्राउन सहजीकरण गरिदिने, एमसीसी पास गर्न पुनः संसद बोलाउने, इन्डो प्यासिफिक इस्ट्राटिजीअन्तर्गतको परियोजना हो वा होइन ? अमेरिकी सेना नेपाल आउँछ, हुकम चलाउँछ, शासन गर्छ आदि इत्यादि अफवाहहरुले सरकारलाई रक्षात्मक बनाउन सक्ने सम्भावनाहरु पनि देखिन्छन् । यसले पनि चुनौति थप्ने छ । साथसाथै अधिवेशनमा पनि प्रभाव पार्नेछ । अनुकूलता र प्रतिकूलताका आधारमा प्रतिक्रिया दिने नेतृत्वका आकांक्षीहरुले यस्तो संवेदनशील विषयमा टिप्पर्णी गर्दा आन्तरिक प्रतिस्पर्धालाई सहज बनाउने वा असहज बनाउने संकीर्ण सोच राख्दा नेपाली कांग्रेसको समग्र राष्ट्रिय सोच, दृष्टिकोण र दायित्वमाथि नै हेरफेर ल्याउन सक्छ । राजनीतिक खपतका लागि बोलिने भाषाले अततः आफैलाई कठघरामा उभ्याउन सक्छ भन्ने तर्फ पनि त्यत्तिकै सचेतता अपनाउन आवश्यक छ ।
नेकपाको दुईतिहाइको सरकार असफल भएपश्चात् समालिएको जिम्मेवारीबाट पनि आश राखिएको छ । को कहाँ छ भन्ने विषय गौण हो, समय र परिस्थिति कस्तो छ ? भन्ने कुरा जनताले मात्र बुझिदिनुपर्ने होइन । सबैभन्दा बढी सरकारले, राजनीतिक दलले बुझ्नुपर्छ । नागरिकले सरकारसँग र दलसँग अपेक्षा राख्छन् नै त्यसकै लागि सरकार आवश्यक परेको हो । जनताले समय, अवस्था र बाध्यता बुझिदिनुपर्छ भन्ने सरकार वा दलको आग्रह अनुचित हो । आफ्नो दायित्व र जिम्मेवारी समयमा पूरा गर्न नसकेमा पटक पटक आंशिक परिक्षा दिएर उक्तिर्ण हुने आश राख्ने सुविधा सरकार तथा दलहरुलाई यो शासन व्यवस्थामा प्राप्त हुँदैन । जनअपेक्षा पूरा गर्दै थप आशा र विश्वास जगाउने दृष्टिकोण निर्माणमा सरकार र राजनीतिक दलहरु अग्रसर हुन सक्नुपर्दछ । त्यसमा पनि नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकार र पार्टीलाई जनताको विश्वास जित्ने र भविष्यको आशा भर्ने राजनीतिक जिम्मेवारी मात्र छ । त्यसबाट दायाँ बायाँ भएमा हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीमाथि ल्याइएको प्रश्न र आरोप सार्थक भएको सन्देश प्रवाह अझ तेज गतिका साथ हुनेछ ।
चौथौं महाधिवेशनको सन्दर्भ र परिपेक्ष्यमा तमाम कांग्रेसी कार्यकर्ता र नेताहरुले यस्ता पेचिला, संवेदनशील र आधारभूत सवालहरुप्रति अझ बढी गम्भीर भएर उभिनु पर्दछ । आफ्नो अभिमतमार्फत् नेतृत्व छनोटको प्रक्रियामा सहभागी हुँदा पार्टीलाई कस्तो बनाउने ? राजनीतिक संस्कार र संस्कृतिको जगेर्ना गर्न सक्ने, विचार, आदर्श, सिद्धान्त र निष्ठाप्रति प्रतिबद्ध इमान्दार व्यक्तिलाई छनोट गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्नु पर्दछ । त्यसले मात्र पार्टीका सदस्यहरु जनताको इच्छा, चाहना र भावनाप्रति इमान्दार भएको महसुस आम लोकतन्त्रवादीहरुले गर्नेछन् ।




