काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमाले अध्यक्ष केपी ओलीले छरेको भ्रमको सशक्त प्रतिवाद गर्न र भ्रमको खण्डन गर्न निर्देशन दिएका छन् । शनिबार राति जारी गरेको अन्तर पार्टी निर्देशनमा आफूहरूका बारेमा ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्न तथा जनता र कार्यकर्ताबीचमा पार्टी पुनर्गठनको औचित्य प्रष्ट पार्न प्रचारप्रसार चलाउन भनिएको छ ।
ओलीले कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको दिशामा धकेलेकाले पार्टी विभाजन कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ति गरिएको जाहेज ‘विद्रोह’ भएको अपानिमा उल्लेख गरिएको छ । ओलीले पार्टी नीतिमुखी, विधि पद्धतिअुसार नचलाएर स्वेच्छाचारी ढंगले चलाएको तथा उनमा व्यक्तिवादी अहंकार हावी भएकाले पार्टी फुटको दिशामा पुगेको अपानिमा आरोप लगाइएको छ । अलग्गै भेला गरी पार्टी फुटाउने, कब्जा गर्ने उद्देश्यले केपी ओली समूहले ७ पुसमा १५०१ जनाको केन्द्रीय कमिटी गठनको निर्णय गरेपछि पार्टीमा थप विवाद चुलिएको अपानिमा उल्लेख छ ।
‘ओलीले २८ फागुन २०७७ मा पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धतिविपरीत केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई खबरै नगरी ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर आफ्नो गुटको मात्र बैठक बसी एमालेको नवौं महाधिवेशनका निर्णयहरू उल्ट्याउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने, पार्टी सदस्य नै नरहेका व्यक्तिहरूलाई केन्द्रीय कमिटीका राख्ने, आफ्नो इच्छाअनुसारको संख्याको केन्द्रीय कमिटी बनाउने जस्ता निर्णय गरी एमालेलाई विभाजको दिशामा धकेलिदिए,’ एकीकृत समाजवादीको अपानिमा भनिएको छ ।
केपी ओली समूहको त्यही निर्णयबाट एमालेको विभाजन सुरु भएको उल्लेख गरिएको छ । ओलीले यस किसिमबाट बलमिच्याइँ र मनमौजी ढंगले गरेका सम्पूर्ण निर्णहरू अवैधानिक भएकाले तिनलाई सच्याइ पार्टीलाई २ जेठ २०७५ को अवस्थामा पुर्याउन निकै प्रयत्न गरिए पनि ओलीमा देखिएको दम्भ र घमण्डले उनले सच्याउन तयार नभएपछि पार्टी पुनर्गठन गरिएको प्रस्ट पारिएको छ ।




