काठमाडौं । जुनसुकै कार्यक्रममा आफूलाई विकासप्रेमी भनेर नथाक्ने नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जोक्स मास्टरमा रुपान्तरण भएको धेरै भयो । हरेक कार्यक्रममा उनका जोक्स सुनेर कार्यकर्ताहरु मनोरञ्जन लिन्छन् । राजनीतिक सहकर्मीको हुर्मत लिएर उखान टुक्का जोड्दै केपी ओलीले भन्ने जोक्सले एमाले कार्यकर्तालाई मात्र होइन, धेरैलाई मनोरञ्जन दिन्छ ।
शनिबार बिहान अस्वास्थ्य भनिएका अध्यक्ष ओली दिउँसो एक्कासि जोक्स सुनाउन राष्ट्रिय सभागृहमा पुगेछन् । महानगरस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालको हर्मुत लिए नै, त्योभन्दा बढी मेलम्ची पानीको जोक्स सुनाएर जग हँसाए ।
विषय गम्भीर थियो, तर उनले जोक्स नै बनाइदिए । उनले भने ‘मेलम्चीको पानी काठमाडौं ल्याउन एमालेकै सरकार चाहिन्छ र आफू नै प्रधानमन्त्री हुनुपर्छ ।’ यो जग हसाउँने कुरा सुनेर धेरैले केपी ओली प्रधानमन्त्री हुनुभन्दा अघिका घटना सम्झे । धेरैलाई फ्लयाक्स ब्याकमा पु¥यायो ।
तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीबाट जनतामा पानी जहाज, रेल, घर–घरमा ग्यासको पाइप र चिल्ला सडकको आश्वसन पाएका थिए । तिनै आश्वसनमा रमाएर जनताले कम्युनिष्ट पार्टीलाई झन्डै दुई तिहाइ बहुमत दिए । झन्डै दुई तिहाइ प्राप्त केपी शर्मा ओली सरकारले साढे तीन वर्ष मात्र शासन गर्न पायो । यस अवधिमा जनतामा बाँडेको आश्वसनको त कुरै छाडौं, कम्युनिष्ट गाई जात्रा अहिलेसम्म सकिएको छैन, जारी छ ।
पानी जहाज, रेल र घरघरमा ग्याँस पाइपको त कुरै छाड्दिऔं, भौतिक निर्माण नसकी उद्घाटन गर्न तम्सिने प्रधानमन्त्री ओलीले कतिसम्म गरे भने डिपिआरसमेत नबनेको सुनकोशी मोरिन डाइर्भरसनको शिलान्यास गरे । काम नसकी धरहराको उद्घाटन गरे, निर्माण सम्पन्न नभइकन मेलम्चीको शुभराम्भ गरे । मानौं सत्ता छोड्नुभन्दा अघि सबै काम मैले नै गरेको हो भन्ने भ्रम जनतामा छाड्नु थियो उनलाई । उनले विभिन्न आयोजनाको उद्घाटनमा मात्र चासो देखाएका थिए भन्ने कुरा घाम झै छर्लङ छ ।
यति हुँदा हुँदै पनि मेलम्चीको पानी काठमाडौं ल्याउन एमालेको सरकार चाहिन्छ भन्नु बोलेको ठेगान नभएको, राजनीतिक इमान्दारी गुमाएको र जनतामा भ्रम छार्न माहिर नेताका रुपमा केपी ओलीलाई इतिहासले सम्झने छ भन्दा अतियुक्ति हुँदैन ।




