काठमाडौं । नेकपा एमाले नेतृत्वको बाग्मती र प्रदेश नम्बर एकको सरकार जोगाउन मुश्किल पर्ने देखिएको छ ।
झण्डै दुईतिहायृ बहुमतसहित संघीय सरकारको नेतृत्वमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक कलहकै कारण अहिले प्रतिपक्षी दलको नेताको हैसियतमा पुगेका बेला प्रदेश सरकारहरुबाट समेत एमाले बाहिरिनुपर्ने अबस्थामा पुगेको हो ।
तत्कालिन एमाले वरिष्ठ नेता माधवकुमार नेपालले विद्रोह गरी अर्को पार्टी दर्ता गरेपछि लुम्बिनि र गण्डकी प्रदेश सरकारको नेतृत्वबाट एमाले बाहिरिइसकेको छ । अब बाँकी रहेका प्रदेश नम्बर एक र बाग्मती प्रदेशको एमाले नेतृत्वको सरकार समेत ढल्ने लगभग निश्चित भएको छ ।
प्रदेश एकमा एमालेका १० र बाग्मतीमा १२ सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी दल रोजिसकेका छन् । प्रदेश नम्बर एकमा ९२ जना सांसद कायम छन् । जहाँ एमाले नेतृत्वको सरकार जोगाउन ४६ जना सांसद आवश्यक हुन्छ । तर माधवकुमार नेपालको साथ छाडर अध्यक्ष केपी शर्मा ओलीतिर लागेका मुख्यमन्त्री भीम आचार्यको पक्षमा ४० जना मात्रै सांसदहरु रहेका छन् ।
त्यस्तै बाग्मती प्रदेशसभामा १ सय ९ सांसद छन् जहाँ तत्कालिन नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकिकृत समाजवादी दल रोजिसकेका छन् । सरकार जोगाउन ५५ सांसद आवश्यक पर्ने बाग्मतीमा समेत ४४ जना मात्रै सांसदहरु रहेका छन् । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समेत नेकपा एमालेका तत्कालिन नेता माधवकुमार नेपाल पक्षकी थिइन् । तर पार्टी विभाजन हुने बेलामा उनी समेत अध्यक्ष ओलीतिर लागेकी थिइन् ।
नेकपा एकिकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले दुबै प्रदेशका मुख्यमन्त्रीहरु एमालेमै रहँदा सरकार ढल्ने यसअघि नै बताइसकेका छन् । तर दुबै प्रदेशका मुख्यमन्त्रीहरुले एमाले छाडेर अर्को दलमा जाने सम्भावना नरहेको बताएका छन् । तर निर्वाचन आयोगले भदौ २२ गतेसम्म स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदहरुलाई दल रोज्ने समय दिएका कारण त्यसपछि मात्रै दुबै प्रदेशका सरकारको टुंगो लाग्नेछ ।




