काठमाण्डाैं । नेपाली कांग्रेस संस्थापनइतर समुहले महाधिवेशनकाे लागि साझा उम्मेदवार तय गर्न नसकेपनि वडा चुनावमा प्रभाव पार्नकाे लागि साझा उम्मेदवार खडा गर्ने घाेषणा गरेकाे छ। विहिवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको एउटै उम्मेदवार अघि सार्ने घोषणा गरेका छन् । तर यसरी सहमतिकाे उम्मेदवार काे हुने भन्ने वारेमा भने उनले खुलेर वाेलेनन । उनले पत्रकार सम्मेलनमा भने-व्यक्तिवादी प्रवृत्तिका विरुद्ध सामूहिकतामा लान खोजेका हौं । कसलाई कुन ठाउँमा राख्नुपर्ने हो । कसलाई के जिम्मेवारी दिंदा उपयुक्त हुन्छ भन्नेमा हामी दृढ छौं। हाम्रो टिमबाट सभापतिको एउटै उम्मेदवार दिएर सहमतिमा अघि बढ्छौं भन्ने सन्देश दिन उपस्थित भएका हौं । पार्टी र लोकतन्त्र बचाउन एक भएर अगाडि बढ्छौं ।
१४ औं महाधिवेशनको अन्तिमसम्म पनि हाम्रो एकता अटुट रहन्छ भन्ने हामीलाई सबैलाई आश्स्त बनाउन चाहन्छौं । सभापतिको एउटै उम्मेदवार हुन्छ । उनले उम्मेदवार छिटै तय गर्ने वताए । दुइ दिनसम्म उम्मेदवारकाे सन्दर्भमा सहमति गर्न पाैडेल समुहकाे वैठक वसेपनि सहमति जुटाउन भने असफल भएकाे थियाे। पाैडेल यसपटक अाफै उम्मेदवार हुन चाहिरहेका छन । उनीसंगै सभापतिका प्रशस्त उम्मेदवार देखिएका छन । विहिवारकाे पत्रकार सम्मेलनमा सभापतिको दाबेदारहरु डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. शेखर कोइराला पनि उपस्थित थिए ।




